ओली एक्लिसकेका छन्, छिट्टै उनको पार्टी सडकको धुलोमा परिणत हुन्छ: नेता नेपाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओली पक्षीय नेता तथा कार्यकर्तालाई आफ्नो पार्टीमा आउन आह्वान गरेका छन् । बुधबार आफ्नो समूहको काठमाण्डौ जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष नेपालले आफ्नो पार्टी मूल पार्टी भएकाले प्रधानमन्त्री केपी ओली पक्षका नेता तथा कार्यकर्तालाई यसैमा गोलबद्ध हुन आग्रह गरे ।

ओलीसँगको लडाइँ पद र प्रतिष्ठाको नभइ विचार, नीति र पद्धतिको भएको भन्दै उनले आफूहरु पार्टीमा परिपाटी स्थापित गर्न लडेको बताए । पार्टीको बहुमत आफूहरुसँग भएको तथा ओलीलाई अनुशासनको कारबाही गरिसकेको उल्लेख गर्दै अध्यक्ष नेपालले ओलीसँग असल कार्यकर्ता अत्यन्तै कम रहेको दाबी गरे। आफ्नो पार्टीमा आउनेहरूको उचित मूल्याङ्कन र सम्मान गरिने उनको भनाइ छ ।



उनले कतिपय कार्यकर्ताले पार्टीको आधिकारिकता प्रतीक्षा गरिरहेको भन्दै आधिकारिक पार्टी आफूहरु नै हुने दाबी गरे । सूर्य चिह्न आफूहरुले नेतृत्व गरेको नेकपासँगै हुने भन्दै उनले भ्रममा नपरि आफ्नो पार्टीमा लाग्न आह्वान गरे ।

प्रधानमन्त्री ओलीको देशलाई सङ्कटमा पुर्‍याउने चाहना रहेको अध्यक्ष नेपालको भनाइ छ । वैशाखमा चुनाव नहुने उनले बताए । प्रतिनिधि सभा विघटनको कदमविरुद्ध अपार समर्थन पाएको भन्दै उनले प्रधानमन्त्री ओली सबै हिसाबले एक्लिएको बताए । आफूहरु पद प्राप्तिका लागि नभइ नागरिक जिम्मेवारी र कम्युनिस्ट कर्तव्य निर्वाह गर्नका लागि सङ्घर्षको मैदानमा उत्रिएको उनको भनाइ छ । प्रधानमन्त्री ओलीले डमरु बजाउँदै केन्द्रीय कमिटी सदस्य बाँडिरहेको भन्दै उनले ओलीको पार्टी सडकको धुलोमा परिणत हुने दाबी गरे ।

अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले सर्वसत्तावादी र निरङ्कुश चरित्र देखाएको आरोप लगाए । नेतृत्वमा पुगेपछि सबैलाई समेटेर अघि बढ्नुपर्नेमा त्यसो नगरिएको उनको भनाइ छ । मन्त्रीहरूको अधिकार खोसेर उनीहरुको अपमान गरिएको तथा सचिवहरूमार्फत सरकार चलाउन थालेको उनको भनाइ छ ।

सम्बन्धित समाचार