
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल राखेका तीन वटा प्रस्तावलाई अस्वीकार गरेका छन्। अध्यक्षद्वय प्रचण्ड–नेपाल बुधबार साँझ देउवा निवास बुढानीलकण्ठ पुगेर प्रतिनिधिसभा पुनःस्थापनालाई प्रमुख राजनीतिक एजेन्डा बनाउन, संयुक्त संघर्ष गर्न र दीर्घकालीन राजनीतिक सहमतिका साथ अघि बढ्न गरेको प्रस्तावलाई सभापति देउवाले अस्वीकार गरेका हुन्।
कांग्रेस नेता रमेश लेखकले प्रचण्ड–नेपालका तर्फबाट तीन प्रस्ताव राखिएको र सभापति देउवाले अस्वीकार गरेको बताए। सभापति देउवा कानुनी रुपमा नेकपा विभाजित नभसकेको अवस्थामा कुनै पनि गुटलाई सहयोग गर्ने पक्षमा नरहेको उनले बताएका थिए ।
प्रधानमन्त्रीले पुस ५ गते असंवैधानिक रुपमा प्रतिनिधि सभा विघटन गरेपछि नेकपाका दुवै पक्षले विपक्षी दलका नेता देउवासँग सहकार्यका प्रस्ताव गर्दै आएका छन्। कतिपयले प्रधानमन्त्री केपी शर्मा ओलीसँग विपक्षी दलको नेता देउवासँगको मिलेमतोमा प्रतिनिधि सभा विघटन गरेको आरोप लगाउँदै आएका छन्।
