नवकान्तिपुर संवाददाता
काठमाडौं, २ माघ ।
अमेरिकाका राष्ट्रपतिमा निर्वाचित जो बाइडनको शपथग्रहण समारोहमा दिने प्रस्तुतिका लागि आइतबार राखिएको पूर्वतयारी सुरक्षा चिन्ताका कारण रद्द गरिएको पोलिटिको पत्रिकाले खबर दिएको छ । पूर्वाभ्यास अब सोमबार गरिनेछ ।
सुरक्षा चिन्ताकै कारण बाइडनको टोलीले विल्मिङटनबाट वाशिङटनसम्मको एमट्य्राक भ्रमण पनि रद्द गरेको छ । बाइडनलाई जनवरी २० मा शपथ खुवाइँदैछ । फेडरल ब्युरो अफ इन्भेस्टिगेसनका निर्देशक क्रिस्टोफर रेले शपथग्रहण समारोहको सुरक्षामा जोखिम पार्ने व्यक्तिको पहिचान गरिरहेको बताएका छन् ।
राष्ट्रपतिको शपथग्रहण समारोहमा परम्परागत रूपमा हजारौं मानिस उपस्थित हुन्छन् । तर कोभिड महामारीका कारण समारोहमा एकदमै कम मानिस मात्र बोलाइएको छ । त्यसमाथि बहालवाला राष्ट्रपति डोनल्ड ट्रम्पले हार स्वीकार गर्न नमान्दा उनका प्रशंसकहरूबाट हुन सक्ने हिंसाका कारण शपथग्रहण समारोहको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।