‘सेटिङ’ वाहेक अरुले संसद पुनर्स्थापना रोकिन्नः नेता भुसाल

नेकपा प्रचण्ड-नेपाल पक्षका नेता घनश्याम भुसालले ‘सेटिङ’ वाहेक अरुले प्रतिनिधि सभा पुनर्स्थापनालाई रोक्न नसक्ने दाबी गरेका छन् । प्रतिनिधि सभा विघटन असंवैधानिक र गलत छ भन्ने सामान्य खेलपढ गर्नसक्नेलाई पनि थाहा भइसकेको अवस्थामा पुनर्स्थापनाको विकल्प नभएको उनले बताए ।

‘संविधानलाई च्यातिन नदिन र देशलाई फेरि सही ट्रयाकमा ल्याउन प्रतिनिधि सभा पुनर्स्थापनाको विकल्पै छैन’ शनिबार रुपन्देहीको मणिग्राममा नेकपा तिलोत्तमा नगर कमिटीको विस्तारित भेलालाई सम्बोधन गर्दै भुसालले भने, ‘सेटिङ वाहेक अरु कुनै तरिकाले पुनर्स्थापना रोकिन्न ।’



पुर्वमन्त्री भुसालले प्रतिनिधि सभा पुनर्स्थापना नभए देश अनिश्चयको डरलाग्दो भूमरीमा फस्ने खतरा औंल्याए । ‘वैशाखमा चुनाव गर्छु र दुई तिहाई वहुमत ल्याउँछु भन्ने प्रधानमन्त्रीको कुरा हास्यास्पद छ’ भुसालले भने, ‘खासमा ओलीजीको उद्देश्य चुनाव गर्ने हुँदै होइन, संविधान भत्काउने हो ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई धम्क्याएर प्रभावित पार्ने र जबरजस्ती विघटनलाई वैधता दिलाउन लागिपरेको भन्दै उनले त्यसलाई रोक्न आफूहरु र विपक्षी दलहरु आन्दोलनमा उत्रिनुपरेको उनले बताए ।

पद नपाएर नेताहरुले विवाद गरेको भनेर प्रधानमन्त्रीले लगाउने गरेको आरोप गलत भन्दै भुसालले ठूलादेखि पियनसम्म सबै पदमा आफ्नै गुटको मान्छेलाई मात्रै नियुक्ति दिने र सबै चिज आफ्नो नियन्त्रणमा राख्न चाहने प्रधानमन्त्री ओलीको तानाशाही सोच समस्या भएको बताए ।

सम्बन्धित समाचार