नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ माघ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पछिल्लो परिस्थितिले नेपाली राजनीतिको निर्णायकको जिम्मेवारी कांग्रेसको काँधमा आएको बताएका छन्। कांग्रेस भरतपुर महानगरले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले यस्तो बेलामा सभापति शेरबहादुर देउवा पुन प्रधानमन्त्री हुनसक्ने सम्भावनासमेत बढेको उल्लेख गरे।
त्यसैले प्रतिनिधि सभा पुनर्स्थापना भएर केही नबिग्रने पौडेलको भनाई थियो। ‘प्रतिनिधि सभा आए पनि केही नोक्सान छैन। उनीहरु दुई फ्याक भएका छन्। हामी त निर्णायक नै छ नि। कांग्रेस जता लाग्छ त्यतै निर्णय हुन्छ,’ प्रतिनिधिसभा विघटनको विरोधसभामा पौडेलले भने, ‘हाम्रो सभापति देउवाको तालुमा आलु फल्यो। फेरि प्रधानमन्त्री हुन बेर छैन।’
यसका लागि पहिले प्रतिनिधिसभा बचाउनुपर्ने पौडेलको भनाई थियो। पौडेलले पछिल्लो अवस्थाले देश ठूलो विद्रोहतिर जान लागेकाले यसबाट जोगाउन काँग्रेस अघि सर्नुपर्ने अवस्था आएको बताए।
पौडेलले भने, ‘प्रतिनिधिसभा विघटनले ठूलो विद्रोहतिर धकेलिँदैछ। शक्ति केन्द्रहरुको क्रीडास्थल बनाउँदैछन्। नेपाललाई रणभूमि बनाउँदैछन्। देशलाई दुष्चक्रमा फसाउन लागिएको छ। त्यसैले पहिले संविधानलाई बचाउँ। पहिले प्रतिनिधिसभालाई बचाउँ। त्यसपछि चुनाव लडौला।’ प्रधानमन्त्री केपी ओलीले असंवैधानिक कदम चालेर आफैले अदालतलाई धम्क्याउन खोजेको समेत पौडेलको आरोप थियो।
