नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ माघ ।

प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनबारे संवैधानिक इजलासमा आजदेखि निरन्तर सुनुवाइ हुँदैछ। यसअघि सुनुवाइ बृहत् पूर्ण इजलासमा गर्ने कि संवैधानिक इजलासमा गर्ने भन्ने विषयमै अल्झिरहेको विवाद शुक्रबार टुंगिएपछि आजदेखि विषयवस्तु (प्रतिनिधि सभा विघटन) मा केन्द्रित रहेर बहस हुने भएको हो।
बहसका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसी संवैधानिक इजलास बनेको छ।
रिट निवेदक १३ मध्ये ११ जनाले प्रतिनिधि सभा विघटन मुद्दाको सुनुवाइ बृहत् पूर्ण इजलासमा गरिनुपर्ने माग गर्दै पूरक निवेदन दिएकाले क्षेत्राधिकारका विषयमा लामै बहस र छलफल भएको थियो।
प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी चुनाव घोषणा गरेपछि असंवैधानिक कदम भन्दै सर्वोच्च अदालतमा १३ रिट निवेदन दर्ता भएका छन्।
