वामदेव ओलीपक्षमा गैसके, एकताको नाममा भ्रम छर्न खोज्दैछन्: नेता नेपाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले पार्टी उपाध्यक्ष वामदेव गौतमले एकता अभियानको नाममा भ्रम फिँजाएको दाबी गरे। नेपालगञ्जमा आइतवार आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षणमा अध्यक्ष नेपालले उपाध्यक्ष गौतमले आफू नजिकका व्यक्तिलाई ओलीतिर लगाएर एकताको भ्रम छर्न खोजेको दाबी गरे।

उनले प्रधानमन्त्री ओलीले आफूलाई सत्तामा पुग्नका लागि पार्टी एकतालाई सिँढीको रूपमा मात्रै प्रयोग गरेको टिप्पणी गरे । ओली अहिलेसम्म कम्युनिस्ट पार्टी एकताको अभियानमा सहभागी नभएको दाबी गर्दै अध्यक्ष नेपालले ओली तानाशाही बन्न खोजेको आरोप लगाए। उनले विगतमा आफू र झलनाथ खनाल प्रधानमन्त्री हुँदा सामान्य समस्या आउँदा राजीनामा दिएको स्मरण गर्दै अहिले ओलीले पार्टीमा बहुमत गुमाएको अवस्थामा राजीनामा दिनु नै उत्तम हुने दाबी गरे।



कार्यक्रममा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीको सिफारिसमा भएको प्रतिनिधि सभा विघटनलाई प्रतिगमनको संज्ञा दिए । भेलामा नेकपा स्थायी कमिटीका सदस्य युवराज ज्ञवाली, वर्षमान पुन, ओनसरी घर्तीलगायतले सम्बोधन गरेका थिए ।

सम्बन्धित समाचार