प्रचण्डको मनमा ओलीको स्वास्थ्य तलमाथि पर्छकी भन्ने ‘पाप’ रहेछ– मन्त्री रायमाझी

नेकपा स्थायी कमिटी सदस्य एवं ऊर्जा मन्त्री टोपबहादुर रायमाझीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मनमा पाप राखेर आलोपालो सरकारको सहमति त्यागेको आरोप लगाएका छन् । केपी ओलीको स्वास्थ्यमा तलमाथि पर्‍यो भने स्वाट्टै आफूले प्रधानमन्त्री पाउने लोभ प्रचण्डमा रहेको रायमाझीको आरोप थियो ।

प्युठानको बिजुवारमा ओलीपक्षीय नेकपा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रायमाझीले सरकारले विकास निर्माण र आर्थिक विकासको अभियान तीव्र बनाएपछि प्रचण्डहरूलाई छटपटी शुरू भएको आरोप लगाए । ‘आलोपालो सहमति गरेकोमा प्रचण्डले राजनीतिक स्थिरताका लागि ओलीलाई पाँच वर्ष नै प्रधानमन्त्री छाडें भन्दा मनमा पाप रहेछ । किन पाप रहेछ भने ओलीजीको किड्नीको दोस्रोपटक ट्रान्सप्लान्ट गर्नुपर्ने थियो ।



सुगर भएको व्यक्तिको अप्रेसन, डाक्टरले पनि के हो भनेका थिए । केपीजी तलमाथि परे भने स्वाट्टै मलाई प्रधानमन्त्री आउँछ भन्ने प्रचण्डको सोच रहेछ,’ रायमाझीले भने, ‘अप्रेसनको १०–८ दिनपछि ओलीजी हिँडेर आएपछि साथीहरूको सातो गयो । दिमाग खराब भयो । झन् पछि जुँगा कालो हुन थाल्यो भनेपछि साथीहरूको होश हवाश उड्यो ।’

पार्टी एकताको म्यान्डेडविपरीत प्रचण्ड र माधव नेपालले समीकरण बनाएको दिनदेखि नै पार्टी एकतामा समस्या आएको रायमाझीले दाबी गरे ।

सम्बन्धित समाचार