नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ माघ ।
अमेरिकाका नवनिर्वाचित राष्ट्रपतिको सपथ ग्रहण समारोहमा कडा सुरक्षा व्यवस्था गरिएको छ। यही जनवरी ६ मा संसद भवनमा भएको हिंसात्मक घटनापछि सपथ ग्रहण समारोह (इनागुरेसन डे) मा पनि सुरक्षा व्यवस्था कडा पारिएको हो। उक्त दिन नेशनल गार्डका १० हजार सैनिक तैनाथ गरिनेछ भने आवश्यक परेमा थप ५ हजार सैनिकलाई पनि तयारी राखिएको छ। डोनाल्ड ट्रम्पको सपथ समारोहमा ८ हजार सैनिक तैनाथ गरिएको थियो।
जो बाइडेनले स्थानीय समयअनुसार २० जनवरीका दिन मध्यान्ह १२ बजेतिर सपथ लिनेछन्। उनले सपथ लिँदा वाशिङटन डीसीमा संकटकाल लगाइनेछ। संसद भवनमा भएको हिंसालाई मध्यनजर राख्दै डीसीमा संकटकाल लगाउने निर्णय मेयर म्यूरियल बोअरले गरेका हुन्। सपथ लिएपछि बाइडेन ह्वाइहाउस जानेछन्।
सपथग्रहण समारोहमा अमेरिकी सेनाको ब्याण्डले परम्परागत धुन बजाउनेछ। बाइडेनले बाइबललाई साक्षी राखेर सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्ट्सबाट सपथ लिनेछन्। उपराष्ट्रपतिका रुपमा कमला ह्यारिसले सर्वोच्च अदालतकी न्यायाधीश सोनिया सोटोमेयरबाट सपथ लिने कार्यक्रम रहेको छ।
सपथग्रहण समारोहमा चर्चित कलाकारहरु लेडी गागा, जेनिफर लोपेज लगायतको प्रस्तुति रहनेछ। लेडी गागाले राष्ट्रिय गान गाउनेछिन्। यस्तै, जोन बोन जोभी, डेमी लोभाटो, जस्टिन टिम्बरलेक लगायतको प्रस्तुति रहनेछ। सपथग्रहणपछि बाइडेनले २१ तोपको सलामी प्राप्त गर्नेछन्। त्यसपछि उनले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
विगतमा पद छाड्दै गरेका राष्ट्रपति सपथ समारोहमा उपस्थित हुने गरेकोमा यसपटक त्यो क्रम भंग हुने भएको छ। समारोहमा राष्ट्रपति डोनाल्ड ट्रम्प उपस्थित हुनेछैनन्। तर ट्रम्प समर्थकले उक्त दिन उनका लागि ‘भर्चुअल इनागुरेसन’ आयोजना गर्ने भएका छन्। जो बाइडेनले सपथ लिइरहेका बेला नै ट्रम्प समर्थकले उनका लागि सपथ समारोह गर्ने भएका हुन्। ६८ हजार ट्रम्प समर्थकले फेसबुकमा यस्तो अभियान चलाइरहेका छन्।
सपथ समारोह क्यापिटल हिलनजिकै हुँदैछ। विगतमा यो समारोहमा लाखौं मानिस उपस्थित हुने गरेकोमा यस पटक कोभिडका कारण मानिसहरु सीमित हुनेछन्। कोभिड तथा जनवरी ६ को आक्रमणपछि सपथ समारोह समितिले मानिसहरुलाई राजधानी नआउन अपिल गरेको छ।