दुई प्रदेशमा आजदेखि हिउँदे अधिवेशन, के होला अविश्वास प्रस्ताव ?

आज प्रदेश १ र वागमती प्रदेशको हिउँदे अधिवेशन शुरु हुदैछ । दुवै प्रदेशको यस अधिवेशनमा सरकारविरुद्धका अविश्वास प्रस्तावले गर्दा चर्चा बढेको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल दुवै नेकपाको ओली पक्षका नेता हुन् । दुवैविरुद्ध प्रचण्ड-नेपाल पक्षले अविश्वास प्रस्ताव दर्ता गरेपछि अब प्रदेश सरकारको भविष्य के हुन्छ भन्ने यो अधिवेशनले टुंगो लगाउने छ ।

प्रचण्ड-नेपाल पक्षले प्रदेश १ मा ३७ सासंदको हस्ताक्षरसहित पुस १२ गते अविश्वास प्रस्ताव दर्ता गरेपनि अहिलेसम्म ५ जनाले हस्ताक्षर फिर्ता लिएका छन् । तर मंगलबार भएको प्रचण्ड-नेपाल पक्षको संसदीय दलको बैठकमा ३३ जना सांसद उपस्थित भएको बताइएको छ । ९३ सदस्यीय प्रदेश सभामा अविश्वास प्रस्ताव पारित गर्न ४७ मत आवश्यक पर्ने गर्दछ ।



त्यस्तै वागमती प्रदेशमा पनि प्रचण्ड-नेपाल पक्षले मुख्यमन्त्री पौडेलविरुद्द अविश्वास प्रस्ताव दर्ता गरेपनि उनले अविश्वास प्रस्तावको सामना गर्ने बताएका छन् । वागमती प्रदेशसभा ११० सदस्यीय छ । सरकारलाई बचाउन ५६ सांसद आवश्यक पर्दछ । नेकपाका सांसद ८० जना रहेकोमा तीमध्ये प्रचण्ड–माधव नेपाल पक्षका मात्र ४६ सांसद छन् । त्यस्तै ओली पक्षका सांसद ३४ जना छन् । त्यसैगरी कांग्रेसका २२, विवेकशील साझाका ३ र अन्य ५ जना सांसद रहेका छन् ।

दुवै प्रदेशमा अविश्वास प्रस्ताव पारित गराउन कांग्रेस निर्णायक देखिएको छ । तर कांग्रेसले अझै कुन पक्षलाई समर्थन गर्छ भन्ने स्पष्ट गरेको छैन । दुवै पक्षले कांग्रेसलाई फकाउन आफ्नो प्रयास जारी राखेका छन् । कांग्रेसको केन्द्रमा नै नेकपाको अहिलेको दुई पक्षलाई हेर्ने दृष्टिकोण विभाजित रहेकाले कांग्रेसले प्रदेशको बारेमा पनि ठोस निर्णय गर्न सकेको छैन । काँग्रेस सभापति शेरबहादुर देउवा नेकपा औपचारिक रुपमा नफुटेकोले अहिले नै कुनै एक पक्षमा लाग्न नहुने तर्क गर्दै अघोषित रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहज वातावारण बनाएको देखिएको छ ।

यसैबीच अहिले भइरहेका छलफल अनुसार कांग्रेसलाई नेकपाका दुवै पक्षले प्रदेश १ र वागमती प्रदेश मध्ये एकमा मुख्यमन्त्रीको प्रस्ताव गरेको बुझिएको छ । तर कांग्रेसको प्रदेश तह भने केन्द्रको निर्णय र निर्देशनलाई पर्खिदा अहिलेसम्म कुनै निर्णय गर्न सकेको देखिदैन ।

सम्बन्धित समाचार