नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ माघ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबारको मौसम पूर्वानुमान जारी गर्दै देशको पूर्वी भू–भागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएको छ । यसको प्रभावले देशका केहि भागमा आंशिकदेखि सामान्य बदली रही अरु क्षेत्रको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाउको छ ।
हाल प्रदेश १ को पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । देशका पहाडी भू–भागका केही स्थान र तराईका अधिकांश स्थानमा हुस्सु–कुहिरो लागि रहेको छ। दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
प्रदेश १ का पहाडी भू–भागका एक–दूई स्थानमा हल्का वर्षाको सम्भावना छ । प्रदेश १, वागमती र गण्डकी प्रदेशका उच्च हिमाली भू–भागका एक–दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । यस्तै राति प्रदेश १, वागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।
