
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छोराछोरी र परिवारका लागि राजनीति गरेको भनी आफूमाथि लागेको आरोपको खण्डन गरेका छन्। परिवारका लागि राजनीति गरेको आरोपमा प्रचण्डले प्रधानमन्त्री केपी ओली निसन्तान हुनुमा आफ्नो कुनै दोष नभएको तर्क गरेका छन्।
‘एउटा निरंकुश तानाशाहले जे पनि आरोप लगाउँछन् नै। त्यसमा धेरै भनिरहन आवश्यक देख्दिनँ। अब म निसन्तान भइनँ त मेरो दोष हो र ? केपी जी निसन्तान हुनुभो। उहाँले अब छोराछोरी भन्न परेन,’ एक अन्तवार्तामा प्रचण्डले भने, ‘म निसन्तान भइनँ। मेरा छोराछोरी भए नातिनातिना छन्। ज्वाई छन्। त्यो मेरो दोष हो र ?’
प्रचण्डले आफू युद्धमा लडेर छोराछोरीलाई विदेशमा पढाउन नपठाएको जिकिर गरे। उनले आफ्ना छोराछोरी पनि यद्धमै होमिएर कीर्तिमानी कायम गरेपछि जनताले रुचाएको दाबी गरे।
‘मेरो छोराछोरा भएकै हुनाले नै चाहि सुविधा लिया छन् त कही। हिजो विद्रोह र युद्धमा मर्न हिँडेका मान्छे हैनन् यिनीहरु। मेरो छोरी भन्नुस् चाहे बुहारीहरु भन्नुस्। यी सबै लडाइमा थिए नि त। जेलनेल यातना भोगेर आएका होइनन्’ प्रचण्डले भनेका छन्, ‘आफू चाहि विद्रोह र युद्धमा छोराछोरीलाई चाहि बिदेशमा पढ्न त पठाएन नि मैले। उनीहरुलाई पनि लडाईमा होमिनपर्छ भने। यो मेरो दोष हो। क्रान्ति कायम राखे कोही भैरवनाथ गणमा तीन वर्ष लापत्त भए। कोही रोल्पा रुकुमको पाखा पखेरामा दौडिएर हिँडे। उनीहरु चुनावमा जिते। त्यस्तो पनि भन्न मिल्छ? त्यसमा मेरो के दोष ?’
