प्रधानमन्त्री ओलीलाई भीम रावलले लगाए आरोप नै आरोप

नेकपा पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहका स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक नम्बरको भगौडा भएको बताएका छन् । सुदूरपश्चिमको कैलाली अत्तरियामा आयोजित प्रशिक्षण कार्यक्रममा पूर्वमन्त्रीसमेत रहेका रावलले ओलीले अरूले भगौडा भनिहाल्लान् भनेर उछिनेर आरोप लगाएको बताएका हुन् ।

‘झापा विद्रोहका दौरानमा कारबाहीमा परेपछि भागेर नैनीताल पुग्नुभयो । त्यतिबेला पनि उहाँ भाग्नुभएकै हो,’ रावलले कार्यकर्ता भेलामा भने, ‘पार्टीका मिटिङमा नआएर बैठक छलफलबाट भाग्नुभयो । प्रतिनिधिसभा भङ्ग गरेर संसद्बाट भाग्नुभयो । नेकपा विभाजन गरेर कम्युनिस्ट आन्दोलनबाट भाग्नुभयो । एक नम्बरको भगौडा उहाँ हो । उहाँहरूले अरूलाई भगौडा भन्न मिल्दैन ।’



उनले केही दिनअघि प्रधानमन्त्री ओलीको धनगढीमा आयोजित सभामा बाटामा हिँड्दाहिँड्दै प्रहरीले समातेर ल्याएको र आफूले जेलमा राजनीतिककरण गरेको भन्ने अभिव्यक्तिको पनि जवाफ दिएका छन् ।

उनले आफू जेल बस्दा तत्कालीन झापाली विद्रोहीहरू राधाकृष्ण मैनाली, सीपी मैनालीहरूले ओलीसँग एउटै मेसमा खानासमेत नखाने गरेको स्मरण गरे ।

‘जेल बसेका बेला मैले अलगअलग मेस देखेपछि सोधेँ– राधाकृष्ण मैनाली, सीपी मैनालीले उहाँ (ओली) झापाको आन्दोलनबाट भागेर हिँडेको हुनाले माथि हामीलाई शङ्का छ भन्नुहुन्थ्यो । सामूहिक मेसमा कहिल्यै सँगै खाएको देखिनँ ।’ जेलमा बस्दा केपी ओलीसँग कुनै पनि प्रकारको राजनीतिक कुरा नगर्नु भनेर त्यतिबेला झापाली अगुवाहरूले भनेको पनि स्मरण गरे ।

सम्बन्धित समाचार