
प्रधानमन्त्री केपी ओलीले पत्रकारहरुले कसैलाई पनि सम्मान गर्न नजानेको बताएका छन् । प्रेस संगठनको आफू पक्षीय कार्यकर्ताहरुको भेलामा बोल्दै उनले समाचार लेख्दा उल्लेख हुने ‘तिमी’ सम्बोधनप्रति आक्रोश ब्यक्त गरे।
‘सबैलाई तिमी भन्नुहुन्छ। लेख्नुहुन्छ। अंग्रेजले यु सिकाएको छ। तिमी लेख्नुहुन्छ। बीबीसीले यु भन्दियो, युको अनुवाद गरेर तिमी चलाइदियो,’ उनले अगाडि भने, ‘हामीले हाम्रो भाषा हाम्रो संस्कृति त्यो छाडिदिएर ‘यु’ वालामा गयौँ, गर्वका साथ।’
त्यतिमै उनी रोकिएनन्। ‘हामी न्युक्लियस फेम्ली जस्तो चराको गुँड होइन। एउटा बा एउटा आमा एउटा अण्डा। अण्डाबाट चल्ला निस्किन्छ। यसो प्वाँख पलाउँछ, भुर्र उड्ड। बाआमा एक्लै। बा आमालाई पनि तिनले चिन्दैनन्। हामी त्यस्तो होइन। पुरानो इतिहास र सभ्यता भएका हौं। अहिले हेर्नुस् – हाइ ड्याडी हाइ मम। ओ हेलो हाउ आर यु मम,’ उनले भने, ‘सिष्टताले केही बिगार्दैन्। हाम्रो तरिका त्यो छ। अहिले हामी आदारका साथ अभिभावकसँग व्यवहार गर्दैनौँ। पहिली तिमी भन्न सिकायो। तिमी भने पछि अरु सिकायो।’
उनले राजतन्त्र हुँदा बक्सियोस् लेख्नेहरुले अहिले तिमी लेखेको भनेर ब्यङ्ग्य गरे। ‘राजतन्त्र हुँदा दरबार हुँदा राजा हुँदा राजाका श्रीमती हुँदा त्यसबेला हामी कसरी बोल्थ्यौँ ? आज हेर्नु, हुकुम बक्सियो भन्थौँ। हेर्नु भन्दैनथ्यौं, नजर भयो भन्थ्यौं। सवारी भयो भन्थ्यौं,’ प्रधानमन्त्री ओलीले अगाडि भने, ‘अहिले, हिँड्नु भयो, खानु भयो भन्न गाह्रो छ। किनकि हामी उनी हिँडे भन्छौं। हाम्रा बाले हेरे। हाम्री आमा त्यहीँ थिइन्, तिनले पनि हेरिन्। तपाईँहरु त्यही लेख्नुहुन्छ होइन ?’
उनले सरकारको कदमको विरोध गर्ने मिडियाहरुलाई पीत पत्रकारिताको संज्ञासमेत दिए। उनले त्यस्ता मिडियाहरु नर्कमा जानेसमेत बताए।
