नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ माघ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले तस्करलाई प्रधानमन्त्री ओलीले सुदूरपश्चिमको हराभरा वन फँडानी गर्न वनमन्त्री बनाएको बताएका छन। विहीबार पार्टीको कञ्चनपुर जिल्लाको विस्तारित बैठक तथा अगुवा कार्यकर्ता भेटघाटमा उनले वनमन्त्री नै तस्कर भए वनको हालत के हुने भन्ने चिन्ता वन संरक्षणकर्मीलाई भएको बताए।
वनमन्त्री प्रेम आलेप्रति कटाक्ष गर्दै उनले वन तस्करीको मिसिल आदालतमा जीवितै रहेकाले पूर्वइतिहास खोज्ने डरले उनी कुप्रचारमा लागेका बताए। ‘वन मन्त्री आउदा तस्कर आयो भन्दै निकै चर्चा हुने गरेको छ,’ उनले प्रधानमन्त्रीलाई सोधे, ‘यस्ता तस्करलाई वनमन्त्री बनाएर प्रधानमन्त्री ओलीले के गर्न खोजेका हुन्’
सुदूरपश्चिमलाई चार चार वटा मन्त्री बनाउनु पार्टी फुटको अस्त्र प्रयोग गर्न भएको उनले बताए। प्रधानमन्त्री ओलीको दम्भ र अहङ्काबाट संसद भंग गरिएको उनले बताए। प्रधानमन्त्री ओलीमा शक्ति र पदको उन्माद चढ्दा कोरोना कहरका बेला खोपका लागि ५० अर्ब चाहिने समयमा भएको संसद भंग गरेर ताजा जनादेशमा जान्छु, भनेर प्रधानमन्त्रीले झुटको खेती गरिरहेको उनको भनाइ थियो।
कोरोना कहरका बेला सुदूरपश्चिमेली जनतालाई कोरोना सार्ने सुदूरका उत्ताउला भनेर दिएको अभिव्यक्तिबाट प्रधानमन्त्री ओलीको सुदूरपश्चिमप्रति हेपाहा प्रवृत्ति रहेको उनले दुख व्यक्त गरे।
