
प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा लगातार छैटौं दिनको सुनुवाइ शुरू भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको इजलासमा माघ ४ गते आइतबारदेखि अन्तिम सुनुवाइ निरन्तर चलिरहेको छ ।
यसअघिका सुनुवाइमा अधिवक्ताले लम्बेतान बहस गरेपछि बुधबार बढीमा आधा घण्टा र विहीबार २० मिनेटसम्म समय दिइएको थियो । प्रतिनिधि सभा विघटनविरुद्धका रिटमा बहसका लागि वकालतनामा लेखाउने अधिवक्ताहरूको लिस्ट लामो छ । अहिलेसम्म दुईदर्जन जतिले मात्र बहस गरेका छन् ।
मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्या भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् । प्रतिनिधि सभा विघटनविरुद्ध नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता लोकेन्द्र ओली लगायतले १३ वटा रिट सर्वोच्चमा दायर गरेका थिए ।
