नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ माघ ।

प्रतिनिधिसभा विघटन सदर भए त्यसले शान्ति प्रक्रियालाई पछि धकेल्ने भन्दै नेकपाको एक खेमाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त्यस्तो अवस्थामा आफूले लाखौं मान्छे सडकमा उतारेर शान्तिपूर्ण आन्दोलन गर्ने बताएका छन्। काठमाडौंमा शुक्रवार हजारौं समर्थकलाई सम्बोधन गर्दै उनले सर्वोच्च अदालतले ‘असंवैधानिक कदमलाई’ खारेज नगरे देशमा द्वन्द्व र अराजकता आउनसक्ने चेतावनी दिए।
तत्कालीन नेकपा एमालेसँग आफ्नो दलले पार्टी एकीकरण गरेपछिको तीन वर्षको अवधिमा आफूले स्वेच्छादारी रूपमा पार्टी चलाउन खोजेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई तह लगाउन नसक्नु गल्ती भएको उनको भनाइ थियो। प्रतिनिधिसभा विघटनविरुद्ध आयोजित जनप्रदर्शन हालैका वर्षमा राजधानीमा आयोजित सबैभन्दा ठूलो विरोध प्रदर्शन भएको बताइएको छ।
आफ्नो सम्बोधनमा प्रचण्डले देशको ‘संविधान आइसीयूमा रहेको समयमा पनि प्रधानमन्त्री ओलीले ठट्टा मजाक’ गरिरहेको भन्दै जनताको शान्तिपूर्ण सङ्घर्षमार्फत् प्रतिनिधिसभा विघटनको प्रतिगामी कदम सच्याउन बाध्य पार्ने बताए। प्रधानमन्त्री ओलीले आफ्नै पार्टीका वरिष्ठ नेताहरूले सरकारलाई काम गर्न नदिएपछि आफूले ताजा जनादेश लिने राजनीतिक निर्णय गरेको बताउने गरेका छन्।
प्रचण्डले आफ्नो असंवैधानिक कदममार्फत् ओलीले संविधान र शान्ति प्रक्रिया दुवैलाई विघटन गर्न चाहेको आरोप लगाएका छन्। उनले भने, ‘यो देशमा फेरि युद्ध होस, फेरि हिंसा होस, फेरि अराजकता होस, फेरि आन्दोलन गर्ने परिस्थिति बनोस् भन्ने कसैले पनि चाहेको छैन।’
‘सर्वोच्च अदालतका सम्मानित न्यायाधीशहरू यो देशमा फेरि द्वन्द्व, फेरि अराजकता, फेरि हिंसा चाहनुहुन्छ भन्ने म कल्पना पनि गर्न सक्दिन।’ उनले थपे, ‘तर यदि केपी ओलीको स्वेच्छाचारी कदमलाई सही ठहर्याउने काम भयो म फेरि युद्धमा जाने वा हिंसाको कुरा छैन।’
‘शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धामा प्रतिबद्धता जनाएर तीन-तीन वटा चुनाव हामीले लडिसक्यौँ। तर यदि त्यस्तो भयो भने शान्तिपूर्ण ढङ्गले निरन्तर लाखौँलाख जनता अपील गरेर निरकुंशता सच्याउने मेरो प्रयास भई नै राख्छ।’
प्रचण्डले थपे, ‘तर ओलीको निरकुंशतालाई प्रोत्साहित गर्ने काम भयो भने नेपालको शान्ति प्रक्रिया पछि धकेलिन्छ कि भन्ने मलाई चिन्ता छ। म गम्भीर शब्दमा सबैलाई अपील गर्न चाहन्छु कि देशलाई बरबाद हुने दिशामा नलगौँ।’
