
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईबीच पछिल्लो समय भेटवार्ता बाक्लिएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा दुवै नेताबीच भेटवार्ता भइरहेको छ । सरकारविरुद्धको आन्दोलनमा शुक्रवार सम्बोधन गरेर प्रचण्ड उपराष्ट्रपति पुनको निवास पुगेका थिए । प्रचण्ड पुगेको १० मिनेटपछि भट्टराई त्यहाँ पुगेका हुन् । दुवै नेताबीच यसअघि पनि उपराष्ट्रपतिको निवासमा डिनरसहित छलफल भएको थियो ।
उपराष्ट्रपति नन्दबहादुर पुनको निवास पछिल्लो समय दुवै नेताको गोप्य छलफल गर्ने ठाउँ वनेको छ । उनीहरुबीच सरकारविरुद्धको आन्दोलन र पार्टी एकतालाई अघि बढाउनेबारे छलफल भइरहेको स्रोतको दाबी छ ।
पुर्व प्रधानमन्त्री भट्टराई पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्रमक रुपमा प्रस्तुत भएका छन् । भट्टराई लामो समय अघिदेखी प्रधानमन्त्री ओलीलाई पदबाट हटाउनुपर्ने माग गर्दै आएका थिए ।
प्रचण्ड र भट्टराईबीच लामो समयदेखि संवाद नभएपनि नेकपाको विभाजनपछि भने बाक्लै भेटघाट हुने गरेको छ । उनीहरुबीच सम्भव भए पार्टी एकता गर्ने र त्यो सम्धव नभए ओलीविरुद्ध मोर्चाबन्दी गर्दै निर्वाचनमा सहकार्य गर्ने विषयमा सहमति खोज्ने प्रयास भैरहेको छ ।
