नवकान्तिपुर संवाददाता
काठमाडौं, १० माघ ।

शहरी विकास मन्त्री प्रभु साहले अब देशलाई पुष्पकमल दाहाल प्रचण्डमुक्त बनाउनुपर्ने बताएका छन् । शनिबार रौतहटको गौरमा आयोजित कार्यक्रममा उनले तीस वर्ष देखि निरन्तर पार्टीको अध्यक्ष रहेका प्रचण्डको साथ सबै नेताहरुले किन छोडे भन्ने चिन्तन गर्न जरुरी भएको बताएका हुन् ।
अहिलेपनि वास्तविक माओवादीहरुले पार्टी एकता चाहेको तर लामो समय देखि अध्यक्ष पदमा रहेका प्रचण्ड पदको लोभमा डुबेको मन्त्री साहको आरोप छ । विगतको संघर्ष र बलिदानलाई बिर्सेर व्यक्तिगत फाइदाका लागि प्रचण्डले काम गरिरहेको उनले बताए ।
मदन भण्डारीको पालाको एमालेलाई माधव नेपालले ध्वस्त बनाएको तर केपी ओलीको नेतृत्वको नेकपाले जनचाहना अनुसार काम गर्दै जनताको बिचमा उच्च छवि बनाएको उनले बताए । दुई तिहाईको बहुमत भएको प्रधानमन्त्रीलाई घेराबन्दीमा पारेर देश बर्बाद गराउन खोजेकोले अब ताजा जनादेशको लागि निर्वाचनमा जानु भन्दा अर्को विकल्प नभएको मन्त्री साहको भनाइ थियो । मन्त्री साहले रौतहटको गौरमा शहरी विकास मन्त्रालय अन्तर्गतका योजनाहरुको निरिक्षण गरेका छन् ।
