हाम्रा साइबर सेनाले प्रचण्ड–माधवलाई तह लगाउँछन्ः महेश बस्नेत

नेकपाका युवा नेता महेश बस्नेतले ओली पक्षका साइबर सेनाले प्रचण्ड र माधव नेपाललाई तह लगाउने चेतावनी दिएका छन्। शनिबार तानसेनमा आयोजित ओली पक्षीय कार्यकर्ता भेलामा बस्नेतले यस्तो जवाफ दिएका हुन्। शुक्रबार काठमाडौंमा प्रचण्ड र नेपाल समूहले आयोजना गरेको विरोध सभामा नेकपा नेता घनश्याम भूसालले प्रधानमन्त्री केपी ओली पक्षका युवालाई ‘साइबर स्याल’को संज्ञा दिएका थिए।

सामाजिक सञ्जालमार्फत सूचना सम्प्रेषण गरेर सुझाव दिने युवालाई ‘साइबर स्याल’ भन्नुले सम्पूर्ण युवाको अपमान भएको उनले गुनासो गरे । प्रचण्डले युवालाई संगठित गर्ने नाममा वाइसिएल बनाएर आपराधिक कार्यमा जोडेको बस्नेतले बताए। ‘प्रचण्डले युवालाई आपराधिक काम बाहेक केही सिकाएनन्’, उनले भने, ‘ओली पक्षीय युवाले नेपाली जनता र राष्ट्रको हितमा काम गरेका छन्। गरिरहने छन्। राष्ट्र र राष्ट्रियताको हितविपरीत काम गर्ने जो कसैलाई छाड्ने छैनन्।’ यी युवा साइबर सेना भएर खबरदारी गर्ने उनले बताए।



माधव नेपालले विगतमा पार्टीलाई लुलो बनाएको उनले बताए। अहिले प्रचण्डले धुलो बनाउन खोजिरहेकाे बस्नेतले आरोप लगाए। यी दुई नेताले व्यक्तिगत पदका स्वार्थ पूरा गर्न पार्टी एकताको बहाना बनाएको उनले बताए। ४ महिनापछि हुने महाधिवेशन र २ वर्षमा हुने निर्वाचन पर्खन नसकेका नेता प्रचण्ड माधवले पार्टी विभाजन गरेको आरोप बताए।

विपक्षी दलसँग मिलेर आफ्नै पार्टीबाट बनेका प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वास ल्याउने र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाअभियोग लगाउने षडयन्त्र आत्मघाती भएको बस्नेतले बताए। ‘त्यसको परिणामस्वरुप संसद विघटन भएको छ। ५ वर्ष संसद चलाउन चाहने तर संसदको दुइ तिहाइ बहुमत सदस्यबाट निर्वाचित प्रधानमन्त्रीलाई हटाउनु खोज्ने किन ?’ उनले प्रश्न गरे।

सम्बन्धित समाचार