नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ माघ ।

नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रचण्ड-माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीले भ्रष्टाचारी जोगाउनकै लागि संसद् विघटन गरेको आरोप लगाएका छन् । काठमाडौंमा आयोजित २ नं प्रदेशका कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्।
‘राजनीतिक स्थायित्वको लागि हामीले संविधान बनाउने बेलामा प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार राखेका थिएनौँ। तर, ओलीले भ्रष्टाचारी जोगाउनकै लागि संसद् भंग गरे’ उनले भने, ‘संसद् नै भंग गरेपछि न रह्यो बाँस, न बज्यो बाँसुरी।’
ओलीले पार्टीलाई प्रधानमन्त्री बन्ने भर्याङ बनाएर संविधान च्यातेको पनि आरोप लगाए। ‘ओलीको कदम संवैधानिक कसैले भनेका छैनन्। सर्वोच्चमा संसद विघटनको विषयमा चलिरहेको छ। सबैले ओलीको कदमलाई असंवैधानिक भनिरहेका छन्’ उनले भने, ‘ओली एक्लिसकेका छन्। सर्वोच्च अदालतले संविधान हेरेर निर्णय गर्छ।’
अहिले भइरहेको संघर्ष पद र कुर्सीको लागि नभएको जिकिर गरे। ‘अहिले हामीले गरिरहेको संघर्ष पद र कुर्सीको लागि भन्ने भ्रम चलिरहेको छ। तर, यो लडाइँ पार्टीलाई विधि र पद्धतिबाट चलाऔँ, व्यवस्थित गराऔँ। सबैलाई व्यक्तिको क्षमता अनुसारको जिम्मेवारी दिऔँ भनेर चलाइएको हो’ उनले भने।
