
विघटित प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाले सरकारलाई सहयोग गरेन भन्ने कुरामा कुनै सत्यता नभएको बताएका छन् । सोमबार अन्तरपार्टी महिला सञ्जालले प्रतिनिधि सभा सुरु गर्न माग गर्दै बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै सापकोटाले प्रतिनिधि सभाले कहिल्यै पनि सरकारलाई असहयोग नगरेको बताए । प्रतिनिधि सभामा एकदिन पनि सत्तापक्ष र प्रतिपक्ष कसैले पनि सरकारको विरोध गरेर सरकारले दिएको बिजनेसमाथि प्रभाव नपारेको बताए ।
प्रतिनिधि सभामा अराजकता भयो, अनुशासन भएन भन्ने सरकारको आरोपमा कुनै सत्यता नभएको विघटित प्रतिनिधि सभाका सभामुख सापकोटाले बताए । उनले भने, ‘कुनै दिन पनि न त्यहाँ त्यस्तो नारा लाग्यो न बेल घेर्ने काम भयो । सौहार्द ढङ्गले र व्यवस्थित ढङ्गले हामीले लोकतन्त्रको मूल्य मान्यता, आदर्शलाई स्थापित गर्नका लागि, छलफलको वातावरण बनाउनको लागि हामीले भगीरथ मेहनत गर्यौँ । हामी सबै सांसदहरू, सचिवालयका कर्मचारीहरू सबैले अहोरात्र खटेर र सबै अनुशासित भएर सदन सञ्चालन गरेका थियौँ । जुन अहिले सहयोग भएन, त्यहाँ अराजकता भयो, अनुशासन भएन भन्ने कुरा आइरहेको छ, त्यो सत्य छैन ।’
उनले प्रतिनिधि सभाको अधिवेशन सुरु गर्ने कुरामा सरकारले अवरोध गर्नु बेठिक भएको पनि बताए। प्रतिनिधि सभाले नीति तथा कार्यक्रम र बजेट पास गर्ने कुरामा कहिल्यै पनि अवरोध नगरेको तर सरकारले विघटन गरेर प्रतिनिधि सभालाई सञ्चालन गर्न अवरोध गरेको उनले बताए ।
प्रतिनिधि सभा फेरि पनि सुरु गर्नुपर्छ भन्ने आवाज आइरहेको उल्लेख गर्दै सापकोटाले यस सम्बन्धमा आफूले अध्ययन गरिराखेको बताए । उनले भने, ‘दुई वटा सदन चलाएको अनुभवसहित हाम्रो व्यवस्थित देशको सर्वाङ्गीण कुरामा ध्यान दिँदै व्यवस्थित ढङ्गले सभा सञ्चालन गर्ने तयारी हुँदै गर्दा खेरि हठात् प्रतिनिधि सभा सञ्चालनमा आबरुद्धता आएको छ । त्यसलाई सुरु गर्नपर्छ भनेर तपाईँहरूले मात्रै होइन यो देशका सबै संविधानविद्, कानुनविद्, विज्ञ, राजनीतिक पार्टीका नेता अधिकांशले चिन्ताका साथ शुरु हुनुपर्छ भन्ने आवाज उठाइ राख्नुभएको छ । त्यस सम्बन्धमा म गम्भीरतापूर्वक, जिम्मेवारीपूर्वक अध्ययन गरिराखेको छु । विश्लेषण गरिरहेको छु ।’
