नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ माघ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले आज पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्ने भएका छन् । पार्टी कार्यकर्ताको ठूलो पंक्ति अहिले पनि विभाजन नहोस् भन्ने पक्षमा रहेकोले आफूले राष्ट्रिय एकता अभियानको घोषणा गर्न लागेको उपाध्यक्ष गौतमले बताए ।
पहिले एकतामा आउन नसकेका र छरिएर रहेका विभिन्न कम्युनिष्ट तथा वाम–प्रगतिशील समूह एवं व्यक्तिहरुलाई पनि यो अभियानमार्फत एकतावद्ध गर्ने उद्देश्य राखिएको उपाध्यक्ष गौतमको सचिवालयले जनाएको छ । ललितपुरको एक होटलमा बिहान ११ बजेपछि कार्यक्रम गरेर गौतमले अभियान घोषणा गर्न लागेका हुन्।
प्रतिनिधिसभा विघटनको घोषणाअघि प्रधामन्त्री केपी शर्मा ओलीको कदमको विरोध गर्दै आएका गौतम प्रतिनिधिसभा विघटनपछि भने कुनै पनि समूहमा रहेका छैनन् । आफू प्रचण्ड–नेपाल समूह या ओली समूहमा नजाने भन्दै उनले पार्टी एकता अभियान शुरु गर्न लागेका हुन् ।
प्रतिनिधिसभा विघटनको कदम गलत रहेको तर आफू नेकपाका दुबै समूहलाई मिलाएर अघि बढ्न सक्रिय हुने र कुनै पनि समूहमा नलाग्ने उनको भनाई छ ।
