नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ माघ ।

जुम्लाको एक गाउँमा भीषण आगलागी भएको छ । जिल्लाको गोठी गाउँमा भएको आगलागीमा परी ३० घर जलेर नष्ट भएका छन् । जुम्लाको तिला गाउँपालिका गोठी गाउँमा मंगलबार बेलुकी आगलागी भएको प्रहरीले जनाएको छ।
जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाइका अनुसार ठूलो संख्यामा चौपाया पनि जलेर मरेका छन् । सुधारिएको चुल्होको माथिल्लो भागबाट एक घरको छानोमा रहेको घाँसमा आगो सल्किएपछि गाउँभरि फैलिएको थियो ।
सहायक प्रजिअ चौलागाइले भने, ‘अगलागी भएको ठाउँतर्फ प्रहरीको टोली गइसकेको छ । हामीलाई अहिलेसम्म ३० घर जलेको खबर आएको छ, आगलागी भएको जानकारी पाएलगतै नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाको टोली घटनास्थलतर्फ गइसकेको छ ।’
प्रजीअ चौलागाइका अनुसार आगो नियन्त्रणमा नरहेका कारण घरहरु अझै जलेको हुन सक्ने आँकलन गरिएको छ । आगलागी भएको गाउँसम्म पुग्न जिल्ला सदरमुकामबाट करिब चार घण्टा लाग्छ । काठैकाठका घरहरु बढी भएकाले आगलागी बढेको आशंका गरिएको छ । मानवीय क्षति भए–नभएको एकीन छैन ।

