सुशील कोइरालाले उद्घाटन गरेको बिपी राजमार्ग आज पुनः उद्घाटन गर्दै ओली सरकार

१८ असार २०७२ मा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले उद्घाटन गरेको बिपी राजमार्गलाई केही ठाउँको पुनर्निर्माणपछि पुनः उद्घाटन गरिँदै छ। विहीबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले भर्चुअल माध्यमबाट उद्घाटन गर्न लागेका छन्।

एकपटक उद्घाटन गरिसकिएको सडक केही स्थानमा मर्मत तथा पुनर्निर्माण गर्दैमा फेरि उद्घाटन गर्नु हास्यास्पद रहेको पूर्वाधार क्षेत्रकै जानकारहरूको भनाइ छ। मन्त्रालय स्रोतका अनुसार मन्त्री नेम्वाङले भौतिक रुपमा भव्य कार्यक्रम गरेर नै सडक पुनर्निर्माणको उद्घाटन गर्ने कार्यक्रम बनाएका थिए । तर, सडक निर्माण तथा पुनर्निर्माणमा सहयोग गर्ने निकाय जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले कोरोना महामारीका कारण विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार सामाजिक दूरी कायम नहुने अडान लिएपछि अनलाइन प्रविधिको प्रयोग गरेर उद्घाटन गर्न लागिएको हो।



जापान सरकारले ०७२ असार १२ को भूकम्पपछि नै सडक नेपाललाई हस्तान्तरण गरेको थियो । तर, कुल १ सय ६० किलोमिटर लामो बिपी राजमार्गमा भूकम्पका कारण विभिन्न ठाउँमा जोखिमयुक्त बनाएको थियो । त्यस्ता, जोखिमयुक्त २५ स्थानको पुनर्निर्माण कार्य हालै सकिएको छ।

उच्च संवेदनशील रहेका पाँच ठाँउमा पुनर्निर्माणको जिम्मा लिएको जाइकाले २६ पुसमा निर्माण सम्पन्न गरेको बिपी राजमार्ग आयोजना प्रमुख सूर्यबहादुर भाटले जानकारी दिए । ‘संवेदनशील र अन्य गरेर बाँकी २० ठाउँमा भने नेपाल सरकारले पुनर्निर्माण तथा मर्मत गरिसकिएको छ’ उनले भने।

उच्च संवेदनशील देखिएका पाँच ठाउँमा जाइकाले आधुनिक प्रविधि अपनाएर निर्माण गरेको र त्यसका लागि ९१ करोड येन (१ अर्ब १ करोड रुपैयाँ) खर्च गरेको छ । यी ठाउँको पुनर्निर्माणका लागि जापानी परामर्शदाता, ठेकेदार र प्रविधिको प्रयोग भएको आयोजना प्रमुख भाटले जानकारी दिए । पुनर्निर्माण गरेको ठाउँको मात्रै बिहीबार उद्घाटन गर्ने तयारी भएको उनको भनाइ छ।

त्यस्तै, संवेदनशील देखिएका २० ठाउँ र अन्य सामान्य मर्मत गर्नुपर्ने स्थानमा नेपाल आफैँले काम गरेको हो । सरकारको करिब ४० करोड रुपैयाँ खर्च भएको छ । सडकका विभिन्न ठाउँ जोखिमयुक्त हुनुमा ०७२ वैशाख १२ र त्यसपछि निरन्तर गएका भूकम्पका कम्पनलाई कारक मानिएको थियो।

सम्बन्धित समाचार