नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ माघ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामाथि आज पनि सुनुवाइ हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको इजलासले यो मुद्दाको निरन्तर सुनुवाइ गरिरहेको छ ।
आजको सुनुवाइमा इजलासले वकिलहरूलाई बहसका लागि समय तोकिदिने छ । यसबारे जानकारी हिजो बुधबारको बहस सकिएपछि प्रधानन्यायाधीश राणाले गराइसकेका छन् । बहसमा नसमेटिएका विषय लिखत बहसनोटमा उपलब्ध गराउन उनको सुझाव छ । करिब तीन सयजना कानुन व्यवसायीको वकालतनामा भए पनि दैनिक दुईरतीन जनाले बहस गर्ने गरेका छन् । सोमबारदेखि बुधबारसम्म छ जनाले मात्र बहस सकेका छन् ।
निवेदक देव गुरुङ पक्षका मात्र ६६ कानुन व्यवसायीले बहसका लागि नाम टिपाएका छन् । तर, तीन दिनमा जम्मा ६ जनाले बहस सकेका छन् । वकिलले बढी समय लिन थालेपछि हिजो अन्तिममा राणाले भनेका थिए, ‘ढिलो न्याय, अन्यायसरह हो । त्यो तपाईंहरूले नै महसुस गर्नुपर्ने विषय हो । अब तपाईंहरूले जतिसुकै कुरा गरे पनि हामी १०–१५ मिनेटभन्दा देव गुरुङका तर्फकालाई समय दिन सक्दैनौँ । तपाईंहरूले हठ नगर्नुहोला । अरू पाँच निवेदक पनि बाँकी नै छन् । उहाँहरूलाई पनि समय दिनैपर्ला । वरिष्ठज्यूहरूले पनि हामीले दिएकै समयमा सक्नुहोला । अब प्रिय मान्दिनुहोला अप्रिय शब्दलाई पनि ।’
१३ वटा रिट निवेदनमा बहसका लागि करिब तीन सय जनाले वकालतनामा बुझाएको र फैसला आउन ढिलाइ हुने भन्दै प्रधानन्यायाधीश राणाले विषय नदोहोर्याइ छोटो बहस गर्न बारम्बार वकिलहरूको ध्यानाकर्षण गराउँदै आएका छन् ।
बुधबार बहस सुरु गरेका वरिष्ठ अधिवक्ता शेरबहादुर केसीलाई समेत न्यायाधीशहरूले बहस छिटो सक्न तारनतार आग्रह गरेका थिए । केसीको बहस सकिएलगत्तै न्यायाधीश मल्लले निवेदक कृष्णभक्त पोखरेललाई कहिलेसम्म मुद्दा लम्ब्याउने भन्दै प्रश्न गरिन् । वकिलहरूले बढी समय लिइदिँदा मुद्दा लम्ब्याउन खोजेको आरोप इजलासले खेप्नुपरेको उनको भनाइ थियो, ुमुद्दा कति समय लैजाने हो रु समय कसरी व्यवस्थापन गर्ने हो रु एउटा मुद्दामा तीन सय जना कानुन व्यवसायी राखेर सबैको बहस उहाँहरूले मागेअनुसारको समयसम्म सुनेर, अझ बाहिरबाट मुद्दा अदालतले लम्ब्यायो भन्ने अवस्थाको सिर्जना गरेर कसरी न्याय निरुपण गर्ने रु’
तर, पोखरेलले इतिहासकै अहम् मुद्दा भएकाले यसमा समय लाग्ने आशयको जवाफ दिएका थिए । ‘श्रीमान्, यो सिङ्गो राष्ट्रको ध्यानाकर्षित गरेको मुद्दा हो । हामीले पनि समय छोट्याउनुपर्ला भनेर कानुन व्यवसायी साथीहरूलाई आग्रह गरेका छौँ । हामीले कुनै कानुन व्यवसायीलाई एक पैसा दिएका पनि छैनौँ । हामी सकेसम्म छोटो बनाउने प्रयास गर्छौं ।’
हिजो नै बहस गरेका वरिष्ठ अधिवक्ता युवराज संग्रौलालाई पनि इजलासले समयमा ध्यान दिन भनेको थियो । एक घण्टाको समय मागेका उनले डेढ घण्टा लामो बहस गरे ।
गत शुक्रबार राणाले अधिवक्ता तथा निवेदक शालिकराम सापकोटालाई १० मिनेटभन्दा बढी समय नलिन भनेका थिए । तर, ध्यानाकर्षण गराएको दिन वकिलहरूले छोटो बहस गरे पनि भोलिपल्टदेखि बहसका लागि पुनः लामो समय लिने गरेका छन् ।
हिजो बुधबार वरिष्ठ अधिवक्ताद्वय संग्रौला र केसीसँगै कृष्णभक्त पोखरेल र हरिहर दाहालले बहस गरेका थिए । प्रधानमन्त्री ओलीले गत ५ पुसमा प्रतिनिधिसभा विघटन गरेपछि यसविरुद्ध अदालतमा परेका रिटमाथि निरन्तर सुनुवाइ भइरहेको छ ।
