‘रअ’ कै योजनामा नेपालमा नयाँ प्रधानमन्त्रीको खोजी; शेरबहादुरदेखि बाबुरामसम्मको चर्चा

नेपालमा कम्युनिस्टहरु एक भएदेखि नै नेकपालाई फुटाउन लागि परेको भारत अन्ततः त्यसमा सफल भयो । चीनको मध्यस्थतामा तत्कालीन एमाले र माओवादीबीच एकता भएपछि भारत नेपालको मामलामा आफू छायामा परेको र चीन हाबी भएको भन्दै नेकपालाई नै फुटाउने योजनामा लागेको थियो । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) ले नेकपा फुटाउने मिसनको नेतृत्व लिएको थियो । यसबीचमा ‘रअ’ नेकपा फुटाउन मात्र होइन नेपालको प्रतिनिधि सभा भङ्ग गर्न पनि सफल भएको छ । प्रधानमन्त्री केपी ओलीलाई उचालेर नेकपा फुटाउन सफल भएको ‘रअ’ले अब भने स्वयं ओलीलाई नै प्रधानमन्त्रीबाट हटाएर नयाँ प्रधानमन्त्री बनाउने चालमा लागेको स्रोतको दाबी छ ।

संसद् विघटनको मुद्दा अदालतमा विचाराधीन भएकोले रअले संसद् पुनःस्थापना भएमा कसलाई प्रधानमन्त्री बनाउने र निर्वाचन हुने अवस्थामा कसलाई प्रधानमन्त्री बनाउँदा आफूअनुकूल नेपालको राजनीति अगाडि बढाउन सकिन्छ भन्नेबारे लेखाजोखा गरिरहेको बताइन्छ । नेकपालाई तीन टुक्रा बनाउने र नेकपा बाहिरको व्यक्तिलाई प्रधानमन्त्री बनाउने लक्ष्यमा रहेको रअलाई परिस्थितिले साथ दिएको बताइन्छ । संसद् पुनःस्थापना भएको अस्थामा पनि प्रधानमन्त्री पद नेकपा बाहिर जाने निश्चित छ । अदालतले निर्वाचनकै पक्षमा फैसला गरे पनि दलहरू ओलीको नेतृत्वमा निर्वाचनमा जान तयार हुने अवस्था छैन । त्यस्तो अवस्थामा चुनावी प्रधानमन्त्रीको रूपमा स्वतन्त्र व्यक्तिको खोजी गर्नुपर्ने पनि हुनसक्छ ।



स्रोतका अनुसार संसद् पुनःस्थापना भएमा कांग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराईमध्ये एकलाई प्रधानमन्त्री बनाउने योजनामा रअ रहेको अनुमान गरिँदै छ । शेरबहादुरको पक्षमा नेकपाका दुवै समूह सकारात्मक छन् । प्रधानमन्त्री केपी ओलीले त संसद् भङ्ग गर्ने निर्णय लिँदा नै देउवालाई परिआएको खण्डमा प्रधानमन्त्री हुन तयार रहनदेखि निर्वाचनमा कार्यगत एकतासम्मको लागि सहमति गराएको चर्चा थियो । त्यसैले पनि देउवाले ओलीविरुद्ध आन्दोलनमा सहयोग गरिरहेका छैनन् तर पछिल्लो समय भने कांग्रेसभित्रकै व्यापक दवावका कारण देउवा आन्दोलनको घोषणा गर्न बाध्य भएको बताइन्छ ।

देउवा संसद् पुनस्थापनाभन्दा निर्वाचनमा गएर कांग्रेसलाई पहिलो दल बनाउने र ५ वर्ष नै प्रधानमन्त्री बन्ने योजनामा छन् । पुनःस्थापना भएमा नेकपा फेरि एक हुनसक्ने चिन्ता पनि उनमा रहेको देखिन्छ । त्यसैले देउवा ओलीकै नेतृत्वमा चुनावमा जानुपर्ने बताउँदै आएका छन् । ओली नै प्रधानमन्त्री भएमा निर्वाचनमा उनी प्रचण्ड नेपाल समूहलाई नै आक्रमण गर्न व्यस्त रहने र कांग्रेसको पक्षमा चुनावी माहोल बन्ने देउवाको बुझाइ छ । त्यसैले पनि रअले देउवालाई भन्दा पनि भट्टराईलाई अगाडि ल्याउन चाहेको हुनसक्ने स्रोतले बतायो ।

संसद् पुनःस्थापित भएमा ओलीलाई प्रतिपक्षमा राखेर बाँकी सबै दललाई समेटेर सरकार बनाउने भारतको चाहना देखिन्छ । सबै दलको रोजाइमा देउवा र भट्टराईमध्ये जो पर्छन् उसैलाई प्रधानमन्त्री बनाउने भारतको चाहनाबमोजिम नै रअले गृहकार्य गरिरहेको बुझिएको छ । निर्वाचन हुने अवस्थामा पनि स्वतन्त्र व्यक्तिको खोजी भैरहेकोले ओलीको प्रधानमन्त्री पद धरापमा परेको चर्चा छ ।

सम्बन्धित समाचार