प्रचण्डको परिवार र घरबेटीका लागि समाजवाद आइसक्यो: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी ओलीले पुष्पकमल दाहाल जनयुद्धका बेला भारतमा लुकेर बसेको आरोप लगाएका छन्। ट्रेड युनियन महासंघको भेलामा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्। उनले प्रचण्डको अब जाने ठाउँ कतै नभएको बताउँदै भने, ‘प्रचण्ड भनेको फ्लटिङ जस्तो कहिले रोल्पा जानु भयो, सिराहा जानुभयो त्यसपछि अब जाने ठाउँ कतै छैन।’ प्रचण्ड हिजो जंगलमा नबसेको भन्दै फेरि जान पनि नसक्ने बताए। ‘उहाँ हिजो जंगलमा बस्नु भएको होइन दिल्ली नोयडा बस्नुभयो। जंगलमा अरुलाई बसाउनु भयो। आफूहरु जेलवाला तेलले जुल्फी कोरेर दिल्ली बस्नु भयो,’ ओलीले भने।

उनले प्रचण्डका लागि समाजवाद आइसकेको बताए। ‘उहाँहरुका लागि समाजवाद त आइसक्यो। उहाँको परिवारका लागि मात्र होइन घरबेटीका लागि पनि समाजवाद आइसक्यो,’ उनले अगाडि भने, ‘हिजो जनयुद्ध लडेकाहरुलाई त समाजवाद आएको छैन।’



उनले अहिलेसम्म एकपटक सूर्य चिन्हमा भोट नहाल्नेले अहिले सूर्य चिन्ह मागेर हिँडेको बताए। उनले प्रचण्डलाई चितवनबाट आफूहरुले जिताएको समेत दाबी गरे। ‘२०७४ मा चितवनमा हामीले जिताएको हो। ठूलाठूला सभा गरेर हामीले लौन भोट हाल्दिनुस् भनेर हामीले जिताएको हो। २०७० मा बत्ती निभाएर बाकस साटेर जिताएको हो हामीले। त्यसभन्दा अगाडि कीर्तिपुरमा त हारिसक्या हुन्,’ उनले भने। उनले प्रचण्ड नेपालहरु बाहिरिएपछि सबैभन्दा अनुशासित पार्टी बनेको बताए।

सम्बन्धित समाचार