नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ माघ ।

बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ६ स्थित इटालिटार र पासीकोट जोड्ने लुडे खोलामा पक्की पुल निर्माण गर्ने भन्दै पुरानो पुल भत्काइएको र लामो समयसम्म वैकल्पिक मार्ग पनि नबनाइएकोले स्थानीयबासीले ठूलो सास्ती भोग्नुपरेको छ ।
हाल पुरानो अस्थायी पुल भत्काइएकोले इटालिटार र पासीकोट आवत जावत ठप्प भएको छ । वैकल्पिक मार्गका बारेमा स्थानीयबासीले ठेकेदार कम्पनी कडेल निर्माण सेवासँग कुरा गर्दा नगरपालिका र वडाले कताबाट बाटो खोल्ने हो त्यसको जानकारी नगराएसम्म वैकल्पिक बाटोको काम गर्न गाह्रो हुने जवाफ दिएको भनिएको छ । यस विषयमा वडा नम्बर ६ का वडाध्यक्ष नवीन केसीसँग कुरा राख्दा कानमा तेल हालेझैँ गरेको स्थानीयबासीको गुनासो छ ।
वडाबाट सुनुवाइ नभएपछि स्थानीयबासी गुनासो लिएर नगरपालिका जाँदा नगरपालिका पनि वडाको समस्या भएकोले ४ नम्बर र ६ नम्बर वडाले मिलाउनु पर्छ भनेर पन्छिने गरेको सुनाउँछन् । वडा नं. ४ का वडा सदस्य श्रीराम केसीले पनि स्थितिलाई गम्भीर रूपमा नलिएको पीडित स्थानीयले नवकान्तिपुरलाई भने ।
गत पौष २५ गते बागमती प्रदेशका सभासद, नगरपालिकाका प्रमुख, वडा नम्बर ६ र ४ का वडाध्यक्षहरूलगायतको उपस्थितिमा उद्घाटन भएको पुल निर्माण कार्यमा पुरानो अस्थायी पुल भत्काउनेबाहेक अरू केही नभएको स्थानीयको भनाइ छ ।
‘हाल सम्पूर्ण निर्माण कार्य अलपत्र पारिएको छ । विगत २ हप्तादेखि सम्पूर्ण काम ठप्प छ । ठेकेदार कम्पनी र कामदार कसैको पनि उपस्थिति छैन । हामी स्थानीय बासिन्दाहरू घर अगाडिको बाटोको हालत हेर्दै ४ किलोमिटर घुमाउरो बाटो हिड्न बाध्य छौं ।’ एक स्थानीय पीडितले गुनासो पोखे ।

