चुच्चे नक्सा जारी भएपछी केपी ओली हटाउने अभियान चल्योः मन्त्री अर्याल

कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले सरकारले विगतमा छुटाइएका नेपाली भूभाग समेटेर चुच्चे नक्सा जारी भएपछी प्रधानमन्त्री केपी ओलीलाई पदबाट हटाउने खेल शुरु भएको बताएकी छन् । अखिल नेपाल महिला संघ काभ्रेले बनेपामा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् । नेकपाको केन्द्रीय सदस्य समेत रहेकी मन्त्री अर्यालले राष्ट्रियताको पक्षमा खुट्टा नकमाएर दह्रोसँग उभिएका कारण प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओलीलाई पदबाट हटाउने प्रयासमा विभिन्न गतिविधिहरु शुरु भएको बताइन् ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकारले चुच्चे नक्सा जारी गरेपछी केपी ओलीलाई नफाली नहुने गरी खेल शुरु भयो । उहाँहरु त्यसरी लाग्नुभयो’, मन्त्री अर्यालले भनिन्, ‘पहिलोपटक नाकाबन्दीको विरुद्धमा उभिदा र दोस्रोपटक चुच्चे नक्सा ल्याएपछी केपी ओलीलाई हटाउन लागेका हुन् ।’



प्रधानमन्त्री ओली राजनेता बन्ने भयो भनेर नै उनकाविरुद्ध विभिन्न आरोप लगाएर सत्ताबाट फाल्ने ढंगले अगाडी बढेको उनको भनाई थियो । आगामी वैशाखमा हुने निर्वाचन कसैले नसोचेको निर्वाचन हुने भन्दै उनले यो निर्वाचनबाट फेरि पनि केपी ओली नेतृत्वको पार्टीले जित्ने दाबी गरिन् ।

‘आगामी वैशाखमा निर्वाचन हुन्छ र त्यो निर्वाचन कसैले नसोचेको निर्वाचन हुनेछ । यो निर्वाचनबाट फेरि केपी ओलीले नेतृत्व गरेको पार्टीले नै बहुमत ल्याउछ’, उनले भनिन्, ‘कम्युनिष्ट पार्टी फुट्यो, अब जय नेपाल हुनेछ भनेर कसैले नसोचे हुन्छ । यस निर्वाचन पनि नेकपाले नै बहुमत ल्याउछ ।’

वैशाखमा हुने निर्वाचनबाट गणतन्त्र खतरामा पर्ने भनेर केही पक्षले भन्दै आएको भन्दै मन्त्री अर्यालले तर वैशाखको निर्वाचनबाट गणतन्त्रलाई खतरा नभएर प्रचण्ड–नेपाल पक्षको पद धरापमा परेको बताइन् ।

सम्बन्धित समाचार