नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ माघ ।

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सर्वोच्च अदालतले नागरिकको अभिमतविरुद्ध फैसला गर्न नसक्ने भन्दै अवसरको सदुपयोग गर्न आग्रह गरेका छन् । प्रतिनिधि सभा विघटनको विरोधमा नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं। ६ काठमाडौंले शुक्रबार शान्ति वाटिकामा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता सिटौलाले अदालतले आमनागरिकको भरोसा र आशा जुटाउने अवसर पाएको भन्दै अवसरको सदुपयोग गरिनुपर्ने बताए ।
उनले अदालतले आफ्नो क्षमता प्रकट गरेर संविधानको रक्षा गर्न सक्छ भनेर नागरिकलाई सन्देश दिने सुनौलो अवसर पाएको पनि बताए । प्रधानमन्त्रीलाई मन लाग्दैमा प्रतिनिधि सभा भङ्ग गर्न नपाओस् भनेर संविधान निर्माणताका संविधानमा धारा ७६ को व्यवस्था गरिएको उनको भनाइ छ । उहाँले प्रतिनिधि सभा विघटन गर्ने आफ्नो गल्ती स्वीकार गर्न आग्रह पनि गरे ।
त्यसैगरी कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता गगनकुमार थापाले अदालतमा भएको विषयमा कांग्रेस बोल्दैन भन्ने भ्रम नराख्न आग्रह गरे । कायरले मात्रै अदालतमा भएको विषयमा बोल्दिनँ भन्ने भन्दै उनले अदालतमा भएको प्रतिनिधि सभा विघटनको मुद्दालाई कांग्रेसले असंवैधानिक कदम भनिसकेको बताए।

