नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ माघ ।

नेकपा प्रचण्ड–नेपाल समूहले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । संसद् पुनर्स्थापना हुनुपर्ने र निर्वाचन आयोगले आफ्नो समूहलाई वैधानिकता दिनुपर्ने अडानमा रहेको यो समूहले आकस्मिक रुपमा आज केन्द्रीय कमिटी बैठक बोलाएको हो।
बिहान ११ बजे बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बस्ने गरि केन्द्रीय कमिटीको बैठक बोलाएको केन्द्रीय कमिटी सदस्य पम्फा भुसालले जानकारी दिइन्। उनले बैठकको एजेण्डा भने स्पष्ट नभएको बताइन्।
प्रतिनिधिसभाको विघटनविरुद्ध आन्दोलनमा रहेको नेकपाको प्रचण्ड–नेपाल पक्षले २१ गतेसम्म तोकेको माइतीघरको धर्ना पनि अन्त्य गरेको छ। उनीहरुले माघ २८ गते काठमाडौँमा विशाल विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको छ।
यो समूहको केन्द्रीय कमिटी बैठक गएको पुस ७–९ मा बसेको थियो। त्यसपछि स्थायी कमिटी बैठकमार्फत् नै पार्टीको निर्णय गर्दै आएको थियो। स्थायी कमिटी बैठकबाटै केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य नरहने गरी हटाउने निर्णय गरेको थियो।
यसै बीच नेकपा ओली समूहले नेकपाको केन्द्रीय कमिटी बैठक बोलाएकोमा महासचिवलाई थाहै नभएको र बैठक नबोलाएको जनाएको छ। ओली समूहको नेकपाको केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले आज प्रेस नोट जारी गरी हाल महासचिव विष्णुप्रसाद पौडेलबाट कुनै पनि बैठक नबोलाइएको स्पष्ट गरिएको छ ।
