नवकान्तिपुर संवाददाता
काठमाडौं, २० माघ ।

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष डाक्टर बाबुराम भट्टराईले देशलाई गृहयुद्धबाट बचाउन र सरकारको प्रतिगमन कदमविरुद्ध अन्य दलसँग सहकार्य गरेर आन्दोलनमा जान आफूहरू तयार रहेको बताएका छन्। नेता भट्टराईले प्रतिनिधि सभा पुनर्स्थापना नभए देश गृहयुद्धमा जाने बताउँदै प्राप्त उपलब्धिको रक्षाका लागि देशमा संयुक्त आन्दोलन आवश्यक रहेको बताए ।
अर्घाखाँचीको सन्धिखर्कमा प्रेस नेपालले गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले गणतन्त्रको रक्षाका लागि दलहरू एक भएर आन्दोलनमा उत्रनुपर्ने बताए । संविधानका चार खुट्टा गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षता र समावेशिता रहेको बताउँदै यी चार खुट्टाबाट नेपालको संविधानरूपी खाट तयार भएको बताए । यीमध्ये जुनसुकै खुट्टा भाँचिदिए पनि खाट सुत्न योग्य नहुने भए जस्तै संविधान पनि तयस्तै हुने नेता भट्टराईको भनाइ छ ।
उनले भने, ‘केपी ओलीले प्रतिनिधि सभा विघटन गरेका छन् । जसका कारण चार वटै खुट्टा हल्लिएका छन् । जुनै पनि बेला धर्मराएर खाट भाँचिने र खाट ढल्ने खतरा छ । संविधानका चार वटै खुट्टा काट्ने दिशामा ओली लागेका छन् ।’ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपाको दाहाल–नेपाल समूहसँग सहकार्य गरेर आन्दोलनमा उत्रन जनता समाजवादी पार्टी तयार रहेको र संयुक्त आन्दोलनका लागि कुराकानी भइरहेको उनको भनाइ छ ।
वैशाखमा चुनाव हुने कुनै सम्भावना नरहेको बताउँदै नेता भट्टराईले देशलाई गम्भीर दुर्घटनाको दिशामा लैजान केपी ओलीको समूह लागेको बताए ।
