नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ माघ ।

प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल प्रचण्डलाई अनावश्यक रूपमा हप्की–दप्की नगर्न र कानुनको पालना गर्न सुझाव दिएका छन् । प्रचण्ड–माधव समूह आक्रामक ढङ्गले अघि बढेको तथा नियम तोड्ने धाकधक्कु लगाउने र कानुन मान्दिनँ भन्दै प्रहरी प्रशासन तथा निर्वाचन आयोगलाई धम्की दिँदै हिँडेको उल्लेख गर्दै उनले अब ‘कानुन मान्दिनँ’ भन्ने जमाना नभएको बताए ।
उनले भने, कानुनको पालना गर्नुहोस्, हप्की–दप्की गर्ने होइन । कानुनको पालना गर्न सिक्नुहोस् । लोकतन्त्र भनेको कानुनको राज हो । बलमिच्याँइको राज होइन । प्रचण्डलाई म सम्झाउन चाहन्छु । ती दिन गए जति बेला तपाईं संविधान मान्दिनँ, कानुन मान्दिनँ भनेर उपद्रो मच्चाएर हिँड्नुभएको थियो । त्यो जमाना गयो । अब कानुनको पालना गर्नुहोस् । अदालतलाई, निर्वाचन आयोगलाई धम्क्याएको छ । हामी यहाँ छौ भनेर ।’
आम हड्ताल आह्वान गरेर प्रचण्ड–माधव समूहले नागरिकलाई दुःख दिएको र आफूहरु चाहिँ गाडी र मोटरसाइकलबाट नागरिकले पाएको दुःखको तमासा हेर्दै हिँडेको बताए । उनले कार्यकर्ता नभएर नेताहरू आफै सडकमा उत्रिएको भन्दै व्यङ्ग्य गरे ।
उनले भने, ‘बाटाका छेउमा ल्याएर बेचिराखेको तरकारी सडकभरि फ्याँकेर क्रान्तिकारिता देखाउनुभयो । अरूका गाडी जलाउनु भो, आफू गाडी सयर भएर तमासा हेर्दै नागरिकले कति दुःख पाएका छन् हँ भनेर ? गाडी चढेर तमासा हेर्दै हिँड्नुभयो । अर्को गाडी चढ्न अलि भएन, आफैले बन्द गर्या गाडी नै त नचढुँ भनेर बाइकसम्म त हुन्छ भने र बाइक लिएर हिँड्दै नागरिकले कति दुःख पाए भनेर रमिता हेर्दै हिँड्नुभयो । कार्यकर्ता सिद्धिएछन्, कार्यकर्ता यता छन्, कहाँबाट होस् त उता । कार्यकर्ता सिद्धिएछन् अनि आफै हामी यहाँ छौ भन्ने एउटा टाँस्यो अनि गाडी रोक भनेर को उभिएको छ भनेर हेरेको त प्रचण्ड उभिइराखेको । उभिएको कस्तो ठाउँमा फेरि सातदोबाटोमा । साइन बोर्ड लिएर । कार्यकर्ता छैनन् सिद्धिएछन् । आफै उत्रनुभयो ।’
