नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ माघ ।
बलिउड नायिका सनी लियोनीमाथि ठगीको आरोप लागेको छ । नायिकालाई केरल क्राइम ब्रान्चले यो विषयमा घण्टौंसम्म सोधपुछ गरेको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् ।
सनी लियोनीमाथि एक व्यक्तिले २९ लाख भारु ठगी गरेको आरोप लगाएका छन् । द हिन्दूमा छापिएको रिपोर्ट अजुसार पेरु मबरुरमा बस्ने आर श्रेयस नामका व्यक्तिले सनी लियोनीविरुद्ध २९ लाख भारु ठगीको आरोप लगाएका हुन् । श्रेयसका अनुसार सनी लियोनीले उनीसँग यो रकम दुई कार्यक्रमका लागि लिएकी थिइन् तर उनले कार्यक्रममा उपस्थित हुन अस्विकार गरिन् । यसै मामिलामा केरल क्राइम ब्रान्चले नायिकालाई शुक्रबार राती सोधपुछका लागि बोलाएको थियो ।
सनीलाई कार्यक्रममा उपस्थित नहुनुको कारण सोधपुछ गरियो । सनीले प्रहरीको सोधपुछमा आफू कोरोनाका कारण कार्यक्रममा भाग लिन असमर्थ भएको बताएकी छिन् । सनीका अनुसार आयोजकले पाँच पटक कार्यक्रम रद्द गरिदिए र निर्धारित समयानुसार कार्यक्रम आयोजना पनि भएन । अपराध शाखाका अधिकारीले यदि आयोजकले अन्य कुनै दिन कार्यक्रमको आयोजना गरे उनी उक्त कार्यक्रममा सहभागी हुन तयार भएको बताएकी छिन् । यो विषयमा उजुरीकर्ता र सनीबीच कुराकानी जारी छ ।