नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ माघ ।

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन्। मंगलबार बिहान निर्वाचन आयोगमा १ घण्टा छलफल गरेपछि प्रधानमन्त्री ओली सिधै राष्ट्रपति निवास पुगेका हुन्।
निर्वाचन आयोगसँगको छलफलपछि प्रधानमन्त्री सिधै राष्ट्रपतिलाई भेट्न पुग्नुलाई चासोका साथ हेरिएको छ। निर्वाचन आयोगमा प्रधानमन्त्री ओलीले निवार्चनको तयारीबारे जानकारी लिएका थिए। प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले निर्वाचनको तयारी निरन्तर अगाडि बढाउन आयोगसँग आग्रह गरेको जानकारी दिए।
‘प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनको तयारीबारे जानकारी गराउनु भयो’, छलफलपछि पत्रकारसँग सल्लाहकार थापाले भने, ‘प्रधानमन्त्रीज्यूले आयोगले गरिरहेका तयारीका सन्दर्भमा धन्यवाद ज्ञापन गर्नु भएको छ र निर्वाचनको तयारीको कामलाई निरन्तर अगाडि बढाउन सुझाव पनि दिनुभएको छ।’
प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गर्दै वैशाख १७ र २७ गते नयाँ निर्वाचनको मिति घोषणा गरेका छन्।
