नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ माघ ।

नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले अन्तत प्रहरीले पक्राउ पुर्जी थमाएको छ । बिहान पूर्जी नलिई गएको प्रहरीसँग आफू नआउने जवाफ दिएपछि उनलाई पूर्जी थमाइएको हो। उनलाई राज्य विरुद्धको कसुरमा पक्राउ गर्न लागिएको प्रहरीको पक्राउ पुर्जीमा उल्लेख छ।
यसअघि झाँक्रीले आफूलाई नियन्त्रणमा लिने हो भने पक्राउ पूर्जी लिएर आउन प्रहरीलाई आग्रह गरेकी थिइन्। उनले सार्वजनिक पद धारण गरेको व्यक्तिका विषयमा अभिव्यक्ति स्वतन्त्रता रहेको र त्यही अनुसार आफूले बोलेको दाबी गरिरहेकी छिन्।
उनलाई राष्ट्रपति विरुद्ध दिएको अभिव्यक्तिामा बिहान १० बजे प्रहरी कार्यालय उपस्थित हुन भनिएको थियो । तर उनी उपस्थित नभएपछि प्रहरी लिन निवासमा पुगेको थियो ।
यता झाँक्रीलाई पक्राउ गर्न घरबाहिर प्रहरी पुगेपछि कार्यकर्ताहरूले नाराबाजी गरिरहेका छन् । झाँक्रीलाई पक्राउ गर्न खोजिएको विरोधमा समर्थकहरूले नाराबाजी गरे हुन् ।
उनीहरूले ‘रामकुमारी झाँक्री हाइहाइ, केपी–विद्या बाइबाइ !, प्रहरी हस्तक्षेप बन्द गर !’ लगायत नारा लगाएका छन् । प्रहरीले बल प्रयोग गर्न खोज्दा झडप पनि भएको छ ।

