प्रचण्डतिर होइन, बाबुरामतिर जाँदैछन् ओली सरकारका दुई मन्त्री

गत बुधबार नेकपा प्रचण्ड नेपाल समूहले आयोजना गरेको विरोध सभामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली पक्षमा लागेका दुई मन्त्री फिर्ता हुन खोजिरहेको अभिव्यक्ति दिएपछि बालुवाटारमा हलचलै पैदा भयो । लगत्तै असन्तुष्ट मन्त्रीहरूबारे विभिन्न अड्कलबाजी चल्न थाल्यो । पूर्व माओवादीतर्फका मन्त्रीहरू आशंकाको घेरामा पर्न थाले । उर्जामन्त्री टोपबहादुर रायमाझीको बारेमा बढी नै चर्चा हुन थालेपछि रायमाझीको सचिवालयले एक विज्ञप्ति नै जारी गर्दै सो विषयको खण्डन गर्यो ।

त्यसो त पूर्वमाओवादीतर्फका मन्त्रीहरू पछिल्लो समय प्रधानमन्त्री केपी ओलीप्रति असन्तुष्ट हुन थालेका छन् । युवा संघको नयाँ पदाधिकारी चयनको विषयमा गृहमन्त्री रामबहादुर थापा असन्तुष्ट भएका छन् भने हालै सरकारले भूमि समस्या समाधान आयोगमा नियुक्ति गर्ने क्रममा आफ्ना मान्छे समावेश नगरिदिएको भन्दै उद्योगमन्त्री लेखराज भट्ट पनि ओलीसँग असन्तुष्ट रहँदै आएका छन् । भट्टले आयोगमा सुदूरपश्चिमका केही व्यक्तिलाई नियुक्त गराउन खोजेका थिए । तर, उनले सिफारिस गरेका व्यक्तिहरू एक जना पनि नियुक्त भएनन् । भट्टले कैलाली र कञ्चनपुरबाट आयोगको अध्यक्ष बनाउन सिफारिस गरेका व्यक्ति नियुक्त नभएको भन्दै बलबहादुर महतराले केही दिनअघि भट्टको साथ छाडेका छन् । यस प्रकरणपछि लेखराज भट्ट ओलीप्रति निकै निराश रहेको स्रोतले बतायो ।



यता उर्जामन्त्री रायमाझीको पीडा पनि उस्तै छ । जनवर्गीय संगठनहरूको प्रमुख बनाइएपनि ठूला कार्यक्रमहरू आयोजना गर्दा आफूसँग परामर्श नगरिएको, मञ्चमा स्थान नदिइएको उनकोे गुनासो छ । त्यसैगरी युवा संघको भेला आयोजना गरेर नेतृत्व चयन गरिँदा पनि आफूसँग कुनै परामर्श नभएको दुखेसो उनले आफू निकटहरूसँग राख्ने गरेका छन् । पूर्वमाओवादीकै खानेपानी मन्त्री मणि थापा पनि ओलीसँग सन्तुष्ट छैनन् । ओलीसँग असन्तुष्ट बनेका मन्त्रीहरूको लिस्ट लामै भए पनि प्रचण्डले गत बुधबार आफ्नो पार्टीमा फर्कने तयारीमा रहेको भनेका मन्त्रीहरू भनेर रायमाझी र भट्ट नै रहेको प्रचण्ड निकट स्रोत बताउँछ ।

बाबुरामलाई पर्दैछ चिट्ठा
प्रचण्डले अनुमान गरेजस्तो अबको राजनीति सहज हुने देखिएको छैन । ओलीसँग असन्तुष्ट भएका नेता कार्यकर्ताहरूले प्रचण्डमा भन्दा पनि जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई साथ दिएर एकपटक उनलाई अगाडि बढाउन चाहेको देखिन्छ । लेखराज भट्टले पनि प्रचण्ड–नेपालतिर फर्किने बाटो बन्द भइसकेकाले अन्य विकल्पबारे पनि भट्टले छलफल थालेको स्रोतले बतायो । त्यही क्रममा भट्टले भट्टराईसँग विभिन्न माध्यमबाट कुराकानी गरेका छन् ।

लामो समय डा. भट्टराईसँग निकट रहेर राजनीति गरेका रायमाझी पनि पछिल्ला दिनमा उनीसँग संवादमा रहेका छन् । प्रचण्डलाई छाडेर ओलीतिर लागेका उनी प्रचण्ड र भट्टराईसँग पनि निरन्तर सम्पर्कमा रहेको स्रोतहरूको भनाइ छ । ओली समूहमा निरन्तर कर्नरमा पारिएमा प्रचण्डतिर जानुभन्दा भट्टराईतिरै जाँदा राजनीतिक रूपमा सेफ हुन सकिने बुझाई रायमाझीको रहेको छ । भट्टराईले पनि पछिल्लो समय प्रचण्ड र ओलीसँग असन्तुष्ट रहेका नेता कार्यकर्ताहरूलाई आफ्नो पार्टीमा तान्न विभिन्न स्रोतमार्फत् उनीहरूसँग सम्पर्कमा रहेको बुझिएको छ ।

 

सम्बन्धित समाचार