कार्यकर्ता भेलामा उपप्रधानमन्त्री पोखरेलले डुक्कसँग भने-‘सूर्य चिन्ह बाहिर जाँदैन’

उपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय सदस्य ईश्वर पोखरेलले मुलुकको आर्थिक विकास र समृद्धिका लागि ताजा निर्वाचनमा जानुको विकल्प नरहेको बताएका छन् । प्रेस सङ्गठन नेपाल, गण्डकी प्रदेशस्तरीय भेलाको आज पोखरामा उद्घाटन गर्दै उनले राजनैतिक स्थायित्व र समृद्धिको अभियानलाई पूरा गर्न ताजा जनादेशमा जान खोजिएको स्पष्ट पारे ।

प्रतिनिधिसभा विघटन रहर नभई बाध्ययता भएको उल्लेख गर्दै निर्वाचनलाई सफल पार्न सबैको साथ र सहयोग अपरिहार्य हुनेमा उनको जोड थियो । मुलुकको समृद्धि र राजनैतिक स्थिरताका लागि पार्टीको एकीकरण भएको चर्चा गर्नुहुँदै पोखरेलले पार्टीभित्र देखिएको पदोलोलुपता र सत्तालिप्साको कारण लक्षित योजनाले साकार पाउन नसकेको धारणा राखे ।



पत्रकार पेशागत दक्षताको विकाससँगै विचारमा जिम्मेवारी हुनुपर्नेमा जोड दिँदै उनले सरकारले तीनवर्षे कार्यकालमा गरेका उपलब्धिलाई जनता समक्ष पुर्याउन मिडियाले भूमिका खेल्नुपर्ने बताए । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष कोपी शर्मा ओली नेतृत्व नै नेकपा आधिकारिक पार्टी भएको कारण सूर्य चिन्ह पनि बाहिर नजाने बताउँदै उनले मुलुकको स्थायित्वका लागि निर्वाचनमा जुट्न सबैलाई आग्रह गरे ।

सरकारले जनतालाई स्वास्थ्यमा पहुँच पुर्याउने लक्ष्यका साथ मुलुकको इतिहासमै पहिलो पटक एकै दिनमा ३०९ वटा अस्पतालको शिलान्यास गरेको बताउँदै उनले अस्पतालको भौतिक संरचना निर्माणका लागि रु ५६ अर्ब विनियोजन गरेको जानकारी दिए ।

सम्बन्धित समाचार