वरियता विवादले ओली समूहमा तनाव, पूर्व माओवादीहरूको विजोग

प्रधानमन्त्री केपी ओली आफ्नै समूहका नेताहरूबीच तालमेल मिलाउन नसक्दा तनावमा परेका छन् । पार्टी विवादपछि संसद् विघटनसँगै पार्टी फुट्ने भएपछि पूर्वमाओवादीतर्फका नेताहरूलाई आफूतिर तान्न दिएका विभिन्न आश्वाशन पूरा गर्न नसक्दा ओली समस्यामा परेका छन् ।

गृहमन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य रामबहादुर थापा बादललाई ओलीले आफू पछिको दोस्रो वरियतामा राख्ने भन्दै आफ्नो समूहमा ल्याएका थिए । तर पार्टीभित्रको आन्तरिक सन्तुलन मिलाउन थापालाई दोस्रोमात्र होइन तेस्रो वरियता दिन पनि ओलीलाइ सहज देखिएको छैन । पूर्व एमाले समूहकै नेताहरू विष्णु पौडेल र ईश्वर पोखरेलले दोस्रो र तेस्रो वरियतामा दाबी नछोडेपछि पूर्वमाओवादी नेताहरूको विजोग हुने देखिएको छ ।



यता सुवास नेम्वाङले पनि आफ्नो वरियता थापाभन्दा माथि हुनुपर्ने बताएपछि पूर्वमाओवादी नेताहरू एक भएर वार्गेनिङ गर्ने भएका छन् । ओलीले आफूहरूलाई वरियतामा सम्मानजनक स्थान नदिएमा नयाँ पार्टी खोल्नेसम्मको योजनामा पूर्वमाओवादी नेताहरू रहेको स्रोतको दाबी छ ।

ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई पनि चौथो वरियता दिने भन्दै ओलीले आफ्नो समूहमा ल्याए पनि उनी ८औं वरियतामा पनि नपर्ने भएपछि बाबुराम भट्टराई नेतृत्वको जसपामा जाने तयारीमा रहेको बताइन्छ । उनले भट्टराईसँग यसबारेमा वार्ता गरिरहेको बताइन्छ ।

त्यसैगरी उद्योगमन्त्री लेखराज भट्टले पनि ओलीको कार्यशैलीप्रति आपत्ति जनाउँदै सार्वजनिक रूपमै ओलीको साथ छोड्न कुनै आइतबार कुर्न नपर्ने अभिव्यक्ति दिइसकेका छन् । खानेपानी मन्त्री मणि थापाले पनि ओली समूहमा भविष्य नभएको भन्दै सवै पूर्वमाओवादी नेताहरू एक भएर साझा एजेण्डा बनाएर ओलीसँग बार्गेनिङ गर्नुपर्ने र ओली आफूहरूको माग पूरा गर्न तयार नभएमा सोही बाहनामा प्रचण्ड समूहमै फर्कनुपर्ने सुझाव थापालाई दिने गरेको बताइन्छ ।

सम्बन्धित समाचार