नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ फागुन ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल– नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगले नेकपाको निर्वाचन चिह्न सूर्य ‘फ्रिज’ नगर्ने बताएका छन् । प्रेस सङ्गठन चितवनले आज यहाँ आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा उनले सूर्य चिह्न फ्रिज गर्न नमिल्ने बताए । सूर्य चिह्न फ्रिज गर्ने ओलीको सेटिङ फेल खाने उनले बताए ।
निर्वाचन आयोगले बहुमतलाई नै मान्यता दिने जिकिर पनि उनले गरे । अहिलेको सरकारले निर्वाचन नगराउने आरोप लगाउँदै उनले प्रतिनिधिसभा पुनःस्थापना हुनेमा आफूहरु पूर्ण विश्वस्त रहेको बताए । ‘बाँकी रहेको दुईवर्षे कार्यकाल सांसदहरुले गुमाउन चाहेका छैनन्’, पूर्वप्रधानमन्त्री दाहालले भने ।
अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरे प्रधानमन्त्रीमा आफ्नो दाबी नरहने बताउँदै अध्यक्ष दाहालले भने,’प्रतिपक्षीको मागलाई प्राथमिकतामा राखिन्छ ।’ पत्रकारका एक प्रश्नमा उहाँले छिट्टै संयुक्त आन्दोलन गर्ने विषयमा विभिन्न दलसँग कुराकानी भएको जानकारी दिए ।
भरतपुर महानगरपालिका–१० मा बन्दै गरेको सभागृहको निरीक्षणपछि उनले आफ्नो निर्वाचन क्षेत्रमा सोचेभन्दा बढी विकास भएको जिकिर गरे । आफ्नै निर्वाचन क्षेत्रको माडी अयोध्या र रामको जन्मभूमि भएको प्रमाणित गर्नका लागि पुरातात्विक अन्वेषण गर्नुपर्ने सुझाव पनि उनले दिए।
