नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ फागुन ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी ओली पनि पक्राउ पर्ने दिन आउने बताएका छन् । नेकपा नेत्री रामकुमारी झाँक्रीको पक्राउ र रिहाको विषयलाई लिएर नेता पाण्डेले यस्तो बताएका हुन्। उनले झाँक्रीलाई बोलेकै कारण पक्राउ गरिएको भए पनि उनलाई थुनेर राख्ने तागत ओली सरकारसँग नरहेको दाबी गरे ।
मंगलबार पत्रकारसँग कुरा गर्दै नेता पाण्डेले भने-‘रामकुमारीलाई बोलेकै कारणले आक्रमण गर्ने काशिस गरियो, जनताको तागतका कारण उहाँलाई थुनेर राख्ने अधिकार प्रहरी प्रशासन र ओली सरकारसँग थिएन।’
नेता पाण्डेले भने-‘ओली पक्राउ पर्ने दिन आउँदैन ? आउन सक्छ नि । हिजो बर्मामा सेनाले ‘कू’गर्दै त्यहाँको प्रधानमन्त्रीलाई थुनामा राखेका छन् भने अहिले हामी सँगसँगै आन्दोलन गरिरहेका बेला यो घटना घटेको छ। ओलीको पनि यो दिन धेरै टाढा छैन।’
नेता पाण्डेले झाँक्री पक्राउपछि रिहाका लागि कार्यकर्तासँगै आफू पनि प्रहरीमा पुगेको बताए । उनले झाँक्रीलाई जसरी गिरफ्तार गरिएको हो त्यसैगरी घर पु-याउनु पर्नेमा आफूले अडान लिएको पनि बताए।
