‘हत्यारालाई फाँसी दे’ भन्दै नारा लगाउथे भागरथीका हत्यारा

प्रहरीले बैतडी दोगडाकेदार गाउँपालिका-७ का एक किशोरलाई भागरथी भट्को बलात्कारपछि हत्या आरोपमा पक्राउ गरेको छ। ती किशोरलाई प्रहरीले पहिलेदेखि नै शंकास्पद व्यक्तिको ‘सूची’मा राखेको थियो। उनी प्रहरीको ‘क्लोज सर्भिलेन्स’मा थिए। उनका हरेक गतिविधिसँग प्रहरी नजिक थियो।

माघ २१ गते भागरथीको हत्यापछि उनी नियमित स्कुल जाने(आउने गरिरहेका थिए। भागरथीको हत्यापछि बैतडीमा दोषीलाई पक्राउ गरी न्याय दिन आवाज उठ्न थाले। जुलुसहरूमा ती किशोर पनि देखिन्थे।



‘प्रहरी देख्दा उनी डराउँथे, भागरथीलाई न्याय दे भनेर आयोजना हुने जुलुसमा उनी हात उठाउँथे,’ घटनाको अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘मंगलबार उनलाई घरबाटै समातिएको हो।’ पक्राउ परेका किशोरको घर भागरथीको भन्दा २० मिनेट टाढा हो।

उनीहरू दुबै स्कुल जाने आउने लवलेक सामुदायिक वनको बाटो भएर हो। उनले पहिलेदेखि नै भागरथीको बलात्कार र हत्याको योजना बनाएको ती अधिकृतले बताए। घटना भएको दिन पनि ती किशोर पनि स्कुल गएका थिए। खोचलेक बजारमा भागरथी साथीहरूसँग छुट्टिएपछि उनी भागरथीको पछि लागेका थिए।

अनुसन्धान अधिकृतका अनुसार घर पुग्नुभन्दा एक किलोमिटर टाढा जंगलमा पुगेपछि भागरथीलाई उनले लछारपछार पारेर बलात्कार गरे। र, तुरुन्तै हत्या गरे। भागरथी हत्यामा उनी एक्लैको संलग्नता रहेको सुदूरपश्चिम प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेश सिंहले बताए।

‘भागरथी हत्यामा संलग्न व्यक्ति उनी एक्लै हुन् भन्ने हाम्रो अनुसन्धानले निर्क्यौल गरिसकेको छ,’ सिंहले भने, ‘पक्राउ परेका व्यक्ति बलिष्ठ छन्, उनले आफू एक्लैले घटना गराएको स्वीकार गरेका छन्।’ अनुसन्धान अधिकृतका अनुसार बलात्कार गरेपछि उनले हत्या गर्नुबाहेक विकल्प देखेनन्। परिचित व्यक्ति भएका कारण उनी उम्किन सक्दैनथे।

‘बलात्कारपछि मार्ने नै मनसाय बनाएको देखिन्छ र उनले घाँटी थिचेर हत्या गरेको बताएका छन्,’ ती अधिकृतले भने। भागरथीको पोष्टमार्टम रिपोर्टमा पनि बलात्कारपछि घाँटी थिचेर हत्या गरेको उल्लेख छ। उनले भागरथीसँग आफ्नो ‘दुश्मनी’ रहेको प्रहरीलाई बताएका छन्। यही ‘दुश्मनी’को कारण आफू भागरथीको पछि लागेको उनले प्रहरीमा प्रारम्भिक बयान दिएका छन्।

उनी भागरथीलाई बलात्कारपछि हत्या गर्ने मनसायकै साथ हिँडिरहेका थिए। त्यसदिन उनले उपयुक्त मौका छोपेका थिए। उनी भागरथीसँग नाता पर्ने व्यक्ति हुन्। नातामा उनी भाइ पर्छन्। नियमित स्कुल जाने, धर्ना जुलुसमा सहभागी हुँदा घटनाबाट जोगिन्छु कि भन्ने उनको मनसाय देखिएको ती अधिकृतले बताए। उनले जुलुशमा सहभागी हुँदा हतयारालाई फाँसी दे भन्दै नारा लगाउने गरेका थिए ।

भागरथी र ती किशोरबीच के ‘दुश्मनी’ थियो भन्नेबारे प्रहरीले बताइसकेको छैन। सुदूरपश्चिम प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गर्दैछ र त्यसबेलै प्रहरीले उनीहरूबीचको ‘दुश्मनी’बारे बताउने जनाएको छ।

उनी अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन्। माघ २१ गते साँझसम्म विद्यालयबाट घर नफर्केपछि भागरथीको खोजी सुरू भएको थियो। त्यसको भोलिपल्ट २२ गते साँझ घर नजिकैको जंगलमा उनी मृत अवस्थामा फेला परेकी थिइन्।

सम्बन्धित समाचार