संसद विघटनका विषयमा एमिकस क्युरीको बहस आज पनि

अदालतको सहयोगी (एमिकस क्युरी) ले आज पनि संसद विघटनका विषयमा संवैधानिक इजलासलाई आफ्नो राय दिने भएको छ । गत मंगलबारबाट एमिकस क्युरीको बहस सुरु भएको थियो । पहिलो दिन बद्रिबहादुर कार्कीले र बुधबार दोस्रो दिन सतिशकृष्ण खरेल र विजयकान्त मैनालीले बहस गरेका थिए । खरेल र मैनालीको राय बाझिएको थियो ।

खरेलले संविधानमा संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको तर्क प्रस्तुत गरेका थिए । मैनालीले भने संसद विघटन प्रधानमन्त्रीको अधिकार भएको जिकीर गरेका थिए । आज एमिकस क्युरीका बाँकी अधिवक्ताहरुले बहसमा भाग लिने छन् ।



एमिकस क्युरीको बहस सकिएपछि सर्वोच्च अदालतले संसद विघटनविरुद्ध परेका रिटहरुमाथि आफ्नो फैसला सुनाउने छ । एमिकस क्युरीअघि रिट निवेदकका पक्ष र विपक्षको तर्फबाट बहस सकिइसकेको छ ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् । संसद विघटन असंवैधानिक भएको दाबीसहित सर्वोच्च अदालतमा १३ वटा रिट परेका थिए । ती रिटहरुमाथि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको संवैधानिक इजलासमा बहस हुँदै आएको छ ।

सम्बन्धित समाचार