नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ फागुन ।

भागरथी भट्टको हत्या गरेको अभियोगमा पक्राउ परेका किशोरले परिवारसँग पनि आफूले नै हत्या गरेको कुरा बताएका छन्। प्रहरीको शब्दमा अन्दाजी १८ वर्षीय अभियुक्त दोगडाकेदार गाउँपालिका–७ कै दिनेश भट्टले भागरथीको हत्या गरेको कुरा साँचो भएको बताएका हुन्।
दिनेशले हत्या गरेको कुरामा विश्वास गर्न सकिने ठोस प्रमाण प्रस्तुत गर्न नसकेको भन्दै शव बुझ्न अस्वीकार गरेपछि प्रहरीले परिवारका सदस्यलाई उनीसँग एक्लाएक्लै भेटाएर कुराकानी गर्न लगाएको हो। सोही क्रममा उनले भागरथीको हत्या गरेको बताएको अभियुक्त र मृतकका काका समेत रहेका शिवराज भट्टले बताए।
‘प्रहरीले अभियुक्तको साबिती बयानबाहेक अन्य विश्वसनीय प्रमाण पेश नगरेका कारण मेरो मनमा पनि विभिन्न खालका शंका थिए,’ शिवराजले भने, त्यसपछि मैले उसलाई एकान्तमा एक्लै भेटेर तिमीलाई कुनै दबाब र प्रभाव देखाइएको छ कि? यदी त्यस्तो छ भने हामी तिम्रो न्यायको लागि लड्छौँ भने। तर जवाफमा उसले ‘आफूले नै भागरथी दिदीको हत्या गरेका हुँ भन्यो।’
शिवराजका भनाईमा दिनेशले नाताले दिदी पर्ने भागरथीको हत्या गरेर गल्ती गरेको समेत बताएका छन्। तर प्रहरीलाई दिएको बयान जस्तै उनले बलात्कारपछि हत्या गरेको कुरा भने परिवारसँग पनि अस्वीकार गरेका छन्।
‘म सुरुमा बलात्कार गर्ने उद्देश्यले नै भागरथी दिदीको पिछा गरेर त्यो ठाउँमा कुरेर बसेको हुँ,’अभियुक्तले भनेको कुरा उल्लेख गर्दै शिवराजले भने, ‘जब उसलाई मैले बाटोबाट लडाए एकपटक उठी तर म सँग एक शब्द सम्म बोल्न सकिन। त्यसपछि खै के–के भयो थाहा नै भएन। मेरो मनमा घरपरिवारले थाहा पाउने भए भन्ने सोच आयो। हातले घाँटी च्यापेर मारिदिए। बलात्कार गर्न पाइन्ट खोल्दा ब्लड देखियो त्यसैले गरिन।’
अभियुक्तले प्रहरीलाई दिएकै साबिती बयानसँग मिल्ने कुरा परिवारका सदस्यसँग भनेपनि अब त्यसलाई पुष्टि गर्ने सबुत प्रमाण समेत प्रहरीले आफूहरुलाई देखाउँपर्ने माग उनीहरुको छ। ‘हाम्रो परिवारको सदस्य अपराधी हुँदैन भन्ने मान्यता हाम्रो होइन,’ शिवराजले भने, ‘अपराध अनुसन्धान गर्ने प्रहरीले नै हो। अब अभियुक्तले प्रहरी र हामीसँग भनेका कुरा पुष्टि गर्ने विश्वस्त प्रमाण प्रहरीले प्रस्तुत गर्नुपर्छ भन्ने मान्यतामा हामी छौँ।’
उनले मृतक भागरथीको शव बुझ्ने विषयमा अझै घरायसी सरसल्लाहमै रहेको बताए। गत माघ २१ गते बुधबार विद्यालयबाट फर्किने क्रममा बेपत्ता भएकी भागरथी हत्या गरेको अवस्थामा भोलिपल्ट माघ २२ गते स्थानीय लवलेक सामुदायिक वनमा फेला परेकी थिइन्।
जिल्ला अस्पतालमा गरिएको शव परीक्षण रिर्पोटले उनको बलात्कारपछि हत्या भएको देखाएको थियो। मृतक भागरथीको शव विगत १५ दिनदेखि जिल्ला अस्पताल बैतडीको शव गृहमा राखिएको छ। हत्यारा पत्ता नलागेसम्म शव नउठाउने अडान पीडित परिवारले लिएको थियो।
