प्राथमिकता निर्धारणमा विवेक पुर्याउन सरकारलाई प्राध्यापक संघको आग्रह

त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघले एक विज्ञप्ति प्रकाशन गरी कोभिड–१९ विरुद्धको खोप लगाउने कार्यमा निर्धारण गरिएको प्राथमिकतामा पुनः विचार गरी भीडभाड बढी हुने विद्यालय र विश्वविद्यालयसँग सरोकार भएका शिक्षक, कर्मचारी र विद्यार्थीलाई अबको प्राथमिकतामा राख्न आग्रह गरेको छ ।

विज्ञप्तिमा अगाडि भनिएको छ– विश्वमा महामारीको रूपमा फैलिएको कोभिड–१९ ले आर्थिक, सामाजिकलगायत शैक्षिक क्षेत्रमा ठूलो हानी पु-याएको तथ्य सर्वविदितै छ । हाल यस महामारीविरुद्धको खोप निर्माण भई विश्वभर जनमानसमा वितरण भैरहेको छ । यसै सन्दर्भमा नेपालमा पनि कोरोनाविरुद्धको खोपको पहिलो चरण समाप्त भई दोश्रो चरण सुरु भएको छ । यसरी दोस्रो चरणको खोप सुरु हुँदासम्म पनि सधैं भीडभाड र जोखिम अवस्थामा रहनु पर्ने विद्यालय, महाविद्यालय र विश्वविद्यालयका विद्यार्थी, शिक्षक र कर्मचारीहरू प्राथमिकताको सूचीमा नपरेकोप्रति त्रिवि प्राध्यापक संघको गम्भीर ध्यानाकर्षण भएको छ ।



संघका सभापति डा. वसन्त ढकालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ– विश्व स्वास्थ्य संगठनले बढी जोखिममा रहेका भनी इङ्गित गरेका जेष्ठ नागरिकहरू पनि नेपाल सरकारले प्राथमिकताको दायरामा नराखेको देख्दा लोक कल्याणकारी राज्यको अवधारणाबाट नेपाल सरकार विमुख हुँदै गइरहेको देखिन्छ । तसर्थ यस महामारीविरुद्धको खोपको वितरण पहुँचवालाहरूलाई मात्र वितरण नगरी विश्व स्वास्थ्य संगठनले तोकेको प्राथमिकताको आधारमा न्यायोचित वितरण गर्न र जनसाधारणको स्वास्थ्यजस्तो गम्भीर विषयमा खेलवाड नगरी संविधान प्रदत्त स्वास्थ्यसम्वन्धी मौलिक हकप्रति संवेदनशील रहन सम्बन्धित सम्पूर्ण सरोकारवाला पक्षहरुसँग त्रिवि प्राध्यापक संघ जोडदार माग गर्दछ ।

सम्बन्धित समाचार