नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ फागुन ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आफूविरुद्धको अविश्वास प्रस्तावको पक्षमा कांग्रेस उभिए प्रदेशसभा विघटन गर्ने तयारीमा छन् । मुख्यमन्त्रीनिकट स्रोतका अनुसार प्रचण्ड–माधव समूहले प्रदेशसभामा दर्ता गरेको अविश्वास प्रस्तावको पक्षमा कांग्रेस उभिए राईले प्रदेशसभा नै विघटन गर्नेबारे आन्तरिक छलफलसमेत चलाएका छन् ।
प्रदेशमा राजनीतिक अस्थिरता भित्र्याउनुभन्दा अहिलेको परिस्थितिमा प्रदेशसभा विघटन गर्नु उचित रहेको निष्कर्ष निकालेर राई विघटनको मुडमा पुगेको उनीनिकट स्रोतको दाबी छ । ९३ जना सांसद रहेको प्रदेश १ मा नेकपाका ६७ सांसद छन् भने कांग्रेसका २१ सांसद छन् । १२ पुसमा नेकपा प्रचण्ड–माधव समूहका ३७ जना सांसदले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । राईका पक्षमा २१ जना संसद मात्र प्रष्ट रूपमा खुलेका छन् ।
मुख्यमन्त्री राईले गत साता नै प्रदेशसभा विघटन गर्ने विषयमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँगै कानुनका जानकारहरूसँग परामर्श लिएका थिए । राष्ट्रपति र प्रधानमन्त्रीले राईलाई मुख्यमन्त्री पद गुम्ने अवस्था आए प्रदेशसभा विघटन गर्न सुझाव दिएको उनीनिकट एक नेताले जानकारी दिए ।
