नवकान्तिपुर संवाददाता
काठमाडौं, १० फागुन ।

प्रधानसेनापति पूर्णचन्द्र थापा र प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराबीच भेटवार्ता भएको छ । सोमबार सर्वोच्च अदालत पुगेका प्रधानसेनापति थापाले प्रधानन्यायाधीश जबरालाई कार्यकक्षमा भेट गरेका हुन् ।
प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको फैसला सार्वजनिक गर्ने तयारी भइरहेका बेला प्रधानन्यायाधीश र प्रधानसेनापतिबीचको भेटवार्तालाई महत्वका साथ हेरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा अोलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको थियो । हाल उक्त मुद्दाको बहस सकिएको छ । प्रधानन्यायाधीश जबराले ११ गतेपछि मुद्दाको फैसला जुनसुकै बेला आउनसक्ने बताइसकेका छन् ।
