नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ फागुन ।
साहित्यकार दिल पौडेलको कृति ‘काउसो जुन’ (हाइकु सङ्ग्रह) माथि विश्लेषण गरिएको पुस्तक ‘दिल पौडेलका हाइकुको विश्लेषण र मूल्याङ्कन’ प्रकाशित भएको छ । डा. यज्ञेश्वर निरौलाद्वारा लिखित तथा सुमित्रा पौडेलद्वारा प्रकाशित उक्त कृतिमा दिल पौडेलका हाइकुको समीक्षा मात्र गरिएको छैन, हाइकुको जन्म, विकास, नेपालमा हाइकुको थालनी तथा यसका सैद्धान्तिक पक्षहरूको बारेमा राम्रोसँग वर्णन पनि गरिएको छ ।
हाइकु चीनमा जन्मिएर जापानमा हुकिएको साहित्यिक विधा मानिन्छ तर पनि हाइकु भन्ने वित्तिकै जापानलाई नै सम्झिइन्छ । विश्वमै लघुतम् काव्य विधाका रूपमा स्वीकारिएको यस विधाले अहिले संसारलाई नै प्रभावित गरिरहेको छ र यो अझ मौलाउँदो क्रममा छ । विशेषगरी नेपाली युवा स्रष्टाहरूबाट बढी रूचाइएको तीन हरफे कविताले नेपाली साहित्यमा पनि विशिष्ठ स्थान ओगट्न सफल भइसकेको छ । समीक्षक डा. निरौलाका मतमा हाइकुकार दिल पौडेल यस सन्दर्भमा पनि खरो रूपमा उत्रिएका छन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको शुभकामना मन्तव्य र डा. नारायण गडतौलाको समीक्षात्मक दृष्टि रहेको १४+१२२ पृष्ठ तथा व्यक्तिगत मूल्य रु. २५४ रहेको यो पुस्तक विद्यार्थी र हाइकुका बारेमा जान्न चाहने सवैका लागि एउटा महत्वपूर्ण सामग्री बन्ने कुरामा आशावादी बन्न सकिन्छ ।