चीनले नेपाललाई अनुदानमा दिने कोभिड खोपको मात्रा बढाएर ८ लाख पुर्‍यायो

चीनले नेपाललाई अनुदानमा दिने कोभिड भ्याक्सिन (खोप) को मात्रा बढाएर ८ लाख डोज पुर्‍याउने भएको छ। ‘कोभिड–१९ महामारीविरुद्धको नेपालको लडाइँमा सहयोग गर्नका लागि चिनियाँ सरकारले नेपाललाई अनुदानमा दिने भ्याक्सिनको परिमाण बढाएर ८ लाख डोज पुर्‍याउने निर्णय गरेको छ,’ नेपालस्थित चिनियाँ दूतावासले सोमबार जनाएको छ, ‘यसमा छिटो विजय हासिल गर्नका लागि हातेमालौं गरौं।’

चीनले सुरुमा नेपाललाई तीनलाख डोज कोभिड भ्याक्सिन दिने घोषणा गरेको थियो। पछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन कुराकानी हुँदा वाङले त्यसलाई बढाएर पाँच लाख डोज पुर्‍याउने प्रतिबद्धता गरेका थिए।



भारतले पनि नेपाललाई १० लाख डोज कोभिडविरुद्धको खोप अनुदानमा प्रदान गरेको छ। यसका साथै सरकारले कोभिसिल्ड खोप थप ५० लाख डोज खरिद गर्ने तयारी गरेको छ । प्रतिडोज साढे पाँच डलरका दरले खोप खरिद गर्न सरकारले उत्पादक कम्पनी भारतको सेरम इन्स्टिच्युट अफ इन्डियालाई प्रस्ताव पठाइसकेको छ ।

यसअघि सरकारले भारतबाट २० लाख डोज कोभिसिल्ड खोप खरिद गरेको थियो । तीमध्ये १० लाख डोज आउन बाँकी छन् । त्यतिखेर प्रतिडोज चार डलरका दरले भुक्तानी गरिएको थियो ।

सम्बन्धित समाचार